प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन

२८ माघ २०७५, सोमबार १३:५३

काठमाडौं, सरकारले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरेको हो । फागुन ७ गते सैनिक मंच टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा र उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहने सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको जानकारी दिनु भयो । उहाँले लोकतन्त्रको मर्म अनुसार काम गर्न सक्ने स्पष्ट नीति, योजना, कार्यक्रम तय गरिएकाले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको पनि स्पष्ट पार्नु भयो । सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर टुँडिखेलमा आयोजना गर्ने विशेष समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने र बेलुन उडाउने कार्यक्रम पनि हरेक वर्ष गर्दै आएको छ ।