
गोरखा , नेपाली कांग्रेसका नेता गगन थापाले भेनेजुएला प्रकरणबारे प्रचण्डको वक्तव्य चिप्लिएको भनेर ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताउनु भएको छ । सदरमुकाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सरकारले एकपछि अर्को गल्ती गरिरहेको बताउनु भयो ।कांग्रेस नेता थापाले बैदेशिक सम्बन्धमा सरकार चुकिरहेको बताउनु भयो । उहाँले नेकपा बनाउन एमाले र माओवादीबीच नभई ओली र प्रचण्डबीच एकता भएको दाबी गर्नु भयो । कांग्रेसले पनि जनतामा आशा जगाउन नसकेको स्वीकार गर्दै नेता थापाले पार्टीमा परिवर्तन जरुरी रहेको बताउनु भयो ।
‘कांग्रेस पुरानै ढर्राबाट चलिरहेको छ, अव विगतमुखीबाट भविश्यमुखी बनाएर अघि बढ्नुपर्छ’ उहाँले भन्नु भयो । त्यसका लागि आगामी महाधिवेशनबाट पहिलो पुस्ताको नेतालाई विश्राम दिनुपर्ने र नयाँ पुस्ताको नेतृत्व आउनुपर्ने उहाँको जोड छ ।
उहाँले भन्नु भयो , ‘पार्टी जमेको पोखरी जस्तो भयो । अव बगेको खोला जस्तो बनाउनुपर्छ । आवश्यक परे पार्टीको नेतृत्व लिन तयार छु ।’
