प्रदेश नं ५ का ६ सांसदले गरे घरभाडा नलिने घोषणा

२५ माघ २०७५, शुक्रबार ११:१८


दीपक खनाल
बुटवल , प्रदेशसभा सचिवालयले उपलब्ध गराउने घरभाडा रकम रूपन्देहीमा घर भएका ६ जना सांसदले नलिने घोषणा गरेका छन् । प्रदेश सभा सचिवालयले प्रतिसांसद १५ हजार रुपैयाँ घरभाडाबापत दिँदै आएको थियो । प्रदेशसभा स्थापना भएको एक वर्षसम्म घरभाडा बापतको रकम थाहै नपाई खातामा गएको भन्दै नेकपाका ६ जना सांसदले घरभाडा वापतको रकम नलिने बताएका हुन ।

प्रदेश सभा सचिबालयमा भाडा वापतको रकम नलिने भन्दै उनीहरूले हस्ताक्षार समेत गरेका छन् । नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकाल, सचेतक दधिराम न्यौपाने, सांसदहरू भोज प्रसाद श्रेष्ठ, तुल्सी चौधरी र कमला वि।क।ले घरभाडा बापतको रकम नलिने नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनु भयो ।

प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदहरूलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो । त्यसपछि मात्र सांसदहरूले घरभाडा वापतको रकम नलिने भएका हुन । एक बर्ष सम्म प्राप्त गरेको रकमलाई भने सामाजिक कोष बनाउने योजना रहेको सत्तापक्षका सांसदहरूले बताएका छन् ।