
काठमाडौं , परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्ति समावेशी बनाउने बताउनु भएको छ । बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा उहाँले विगतमा राजदूत नियुक्ति गर्दा समावेशी नभए पनि अब संविधानअनुसार नै समावेशी बनाइने बताउनु भएको हो ।
परराष्ट्र मन्त्रालयले अन्य देशहरुसँग कस्तो सम्बन्ध छ र कुन देशसँग के अपेक्षा छ भन्ने विषयमा अध्ययन गरेर प्रोफाइल बनाइरहेको मन्त्री ज्ञवालीले जानकारी दिनु भयो । यसरी तयार पारेको प्रोफाइल सम्बन्धित देशका राजदूतलाई पठाउने पनि उहाँले बताउनु भयो ।
मन्त्री ज्ञवालीले ५ देशमा नेपालको राजदूत खाली रहेको पनि संसदीय समितिमा जानकारी दिनु भयो । हाल २८ देश तथा नियोगमा नेपाली राजदूतहरु रहेका छन् । बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ देशमा भने राजदूत छैनन् ।
