बुटवल , ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ बुटवलमा कृषि मेला सुरु भएको छ । प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमबारदेखि बुटवलमण्डपमा कृषि मेला २०७५ सुरु भएको हो ।

२६ माघसम्म सञ्चालन हुने मेलाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिरुवामा पानी सिञ्चित गरी उद्घाटन गर्नु भएको थियो । मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताउनु भएको थियो । उहाँले प्रदेशको विकासको पहिलो आधार कृषि र त्यसपछि उद्योग तथा पर्यटन रहेको बताउनु भएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले व्यवसायीहरूको संस्था भएर पनि उद्योग वाणिज्य संघले कृषिको क्षेत्रमा गरेका कार्यक्रम र मेलाहरू अनुकरणीय रहेको बताउनु भएको थियो । मेलामा गाउँका उत्पादनदेखि कृषि प्रविधिका एक सय २६ स्टल रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।
