कांग्रेसको आज देशभर शक्ति प्रदर्शन

२१ माघ २०७५, सोमबार १४:४४

काठमाडौं ,  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोधमा आज ७७ वटै जिल्लामा शक्ति प्रदर्शन गर्दै छ । विरोध प्रदर्शनका लागि अधिकांश शीर्ष तहका नेताहरू जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन पुगिसकेका छन् । केही नेता आफ्नै जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुँदै छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्दै छन् । उपसभापति विमलेन्द्र निधिले धनुषामा हुने प्रदर्शनलाई सम्बोधन गर्ने छन् । यस्तै महामन्त्री डा। शशांक कोइराला आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने नवलपुरको विरोध सभामा सहभागी हुँदै छन् । प्रवक्ता विश्वप्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुन त्यहाँ पुगिसकेका छन् ।यसैगरी नेता गगन थापा पोखरामा हुने कार्यक्रममा सहभागी हुन आजै विहान पोखरा पुगेका छन् । नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुँदै छन् ।

यस्तै नेता कृष्णप्रसाद सिटौला झापामा हुने प्रदर्शनमा सहभागी हुने छन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन नदिए पनि शीर्ष तहका नेताहरु स्वतस्फुर्त रुपमा जिल्लामा हुने प्रदर्शनमा सहभागी हुन पुगेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।   राजधानीमा भने विभिन्न भागबाट जुलुस निस्किने तयारी भइरहेको छ । काठमाडौंमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कको शान्तिबाटिकामा पुगेर विरोध सभामा परिणत हुने काठमाडौं काग्रेसका सभापति सबुज बानियाँले जानकारी दिनु भयो ।   गत १३ माघमा बसेको कांग्रेस केन्द्रिय समिति बैठकले सरकारको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले विभिन्न १६ बुँदे आधार देखाएर सरकार बिरुद्ध आन्दोलन गर्नु परेको बताउँदै आएको छ ।