मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेः मन्त्री विश्वकर्मा

२२ माघ २०७५, मंगलवार १३:०८

काठमाडौं, युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले छिटै नेपाल क्रिकेट परिषद् क्यान माथि लगाएको निलम्बन फुकुवा गर्ने  बताउनु भएको छ ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गर्नु भयो ।  साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको क्यान विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।मन्त्री विश्वकर्माले आइसिसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्राप्त हुने बताउनु भयो । निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न मन्त्री विश्वकर्माले आइसिसीलाई आग्रह पनि गर्नु भयो ।  क्रिकटकै प्रसंगमा मन्त्री विश्वकर्माले मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दावी गर्नु भयो । गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान सरकार आफैले नबनाएर किन अरुलाई जिम्मा दियो भन्ने प्रश्नमा मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको जवाफ  दिनु भयो ।