कमल थापा द्वारा स्वतन्त्र तराईको माग राख्नेहरुमाथि नियन्त्रण गर्न माग

५ फाल्गुन २०७५, आईतवार १६:४१

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीले देश टुक्र्याउन चाहने विखण्डनकारी शक्तिले तराईमा गतिविधि गरिरहेको भन्दै त्यसलाई बेलैमा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।आइतबार पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले उक्त कुरा बताउनु भएको हो । ‘तराईमा एउटा समूहले मधेस नेपाल होइन, स्वतन्त्र देश हो भनेर गतिविधि गरिरहेको छ, गोप्य रुपमा प्रभाव विस्तार भइरहेको छ’ ‘यसलाई सुरुमै सम्बोधन गर्न नसक्ने हो भने राष्ट्रिय सुरक्षाको लागि थ्रेट हुने थापाले बताउनु भयो । थापाले स्वतन्त्र तराईको माग राख्नेहरुमाथि नियन्त्रण गर्न माग गर्नु भएको हो ।
राप्रपाका अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रधिकार बढाउन माग गर्नु भएको छ । नेपाली सेना र न्यायालयसँगै मन्त्रिपरिषदको निर्णयमार्फत हुने भ्रष्टाचारको छानबिनको जिम्मा पनि अख्तियारलाई दिनुपर्ने उहाँको माग छ राप्रपा अध्यक्ष थापाले नेपाली सेना, न्यायालय र मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार बढेको बताउनु भयो ।
अख्तियारको नियन्त्रण बाहिर हुँदा सेना र न्यायलयमा भ्रष्टाचार बढेको र सानातिना ठेक्काका निर्णय पनि मन्त्रिपरिषदबाट हुन थालेको भन्दै उहाँले राज्यकोषबाट सञ्चालित सबै निकाय अख्तियारको क्षेत्राधिकारमा समावेश गर्नुपर्ने बताउनु भयो ।