सरकारविरुद्ध २१ गते देशभर कांग्रेसले प्रर्दशन गर्ने

१४ माघ २०७५, सोमबार ११:१०

काठमाडौं , आगामी सोमबार सरकारविरुद्ध देशभर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रर्दशन गर्ने भएको छ । आगामी २१ गते सोमबार देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकले गरेको हो ।

सरकारले आफूहरुको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुईवटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै कांग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गर्न लागेको हो ।

पार्टी जिल्ला कार्यसमितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।कांग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ ।बैठकले आमरण अनसनरत डा। गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ ।