गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता होः उपराष्ट्रपति पुन

२ माघ २०७५, बुधबार १२:५०

कास्की,  उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको  बताउनु भएको छ ।   पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको बुधबार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् ऊर्जा र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने  बताउनु भयो ।

‘नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार स्थापना गरेर गुणस्तरीय पर्यटक भित्र्याउनु अहिलेको आवश्यकता हो ।’   उहाँले भन्नु भयो । पर्यटकको सुविधाका लागि सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्ट आवश्यक रहेकोमा जोड दिँदै उहाँले  देशका विभिन्न भागमा समेत होटल व्यवसाय विस्तार गरिनुपर्ने  बताउनु भयो ।  युवा पिँढीलाई स्वदेशमै उद्योग व्यवसायमा लाग्न प्रेरित गर्नु  पर्ने आवश्यक रहेको उहाँको भनाइ छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सरकार उद्योगी व्यवसायीलाई लगानीको लागि वातावरण बनाउने बताउनु भयो ।  सन् २०२२ मा प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने उद्देश्यलाई सफल बनाउन सुविधा सम्पन्न होटल विस्तार हुनुपर्ने खाँचो  उहाँले  बताउनु भयो । होटल सञ्चालक मीनराज गुरुङले १८ करोड एकल लगानीमा निर्माण गरेको १० तले भवनमा सुविधा सम्पन्न ३२ कोठा, एक अपार्टमेन्ट तथा तीन सेमिनार हल छन् ।