भैरहवा, विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको लायन्स क्लबले भैरहवामा रहेको भानु माध्यामिक विद्यालयमा रु।५१ हजारको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । अन्तर्राष्ट्रिय लायन्सका संस्थापक मेल्बिन जोन्सको १४० औँ जन्म दिवसको अवसरमा लायन्स कलब अफ सिद्धार्थनगर र लायन्स कलब अफ शंकरनगर लोटसले संयुक्त रुपमा अक्षयकोषको स्थापना गरेको लायन्स कलब सिद्धार्थनगरका अध्यक्ष थिरेन्द्र श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर सुनिल ओझाले अरु क्षेत्रमा धेरै सहयोग गरिसकेको क्लबले अब बिकासको आधारको रुपमा रहेको शिक्षा क्षेत्रको विकासमा पनि लागेको बताउनुभयो ।अति बिपन्न,गरिब र जेहन्दार विद्यार्थीहरुलाई लक्षित गरी अक्षयकोषको स्थापना गरेको उहाँले बताउनुभयो । यस्तै पूर्व डिष्ट्रिक गभर्नर अरुणप्रताप राणाले विद्यालय तहका बालबालिकाहरु विभिन्न कुलतमा फस्न सक्ने भएकाले तिनीहरुलाई सानै उमेरदेखि नै पढाइमा रुची बढाउँदै र अनुशासित बनाउँदै सभ्य नागरिक बन्नमा सबै मिली सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । शिक्षक अभिभावक संघको अध्यक्ष फैजअहमद खानले सामुदायिक विद्यालयहरुमा अधिकांश विद्यार्थीहरु गरिब, कम शिक्षित भएको समुदायबाट आउने भएकोले स्थापित अक्षयकोषबाट त्यस्ता विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने बताउनुभयो । यस्तै विद्यालयका प्र।अ। मोतीलाल सुबेदीले विद्यालयमा स्थापित अक्षयकोषले गरिब तथा जेहन्दार विद्यार्थीहरुहरुलाई सहयोग पुग्ने बताउदै धन्यबाद दिनुभएको थियो । उहाँले विभिन्न रुपमा सहयोग गर्दै आएको क्लबलाई आगामी दिनमा पनि सहकार्य गरी अघि बढ्न अनुरोध गर्नुभयो ।
