गुल्मी उद्योग वाणिज्य संघमा व्यावसायीहरु बीच विवाद चुलिँदै

१ माघ २०७५, मंगलवार १०:१६

गुल्मी, गुल्मी उद्योग वाणिज्य संघमा व्यावसायीहरु बीच विवाद चुलिँदै गएको छ । जसका कारण अधिवेशनसमेत स्थगित गर्नुपर्ने अवस्थाको सृजना भएको छ । लामो समयसम्म दलहरुले सहमतिको प्रयास गरेका थिए तर केही पदाधिकारी र अन्य सदस्यहरुको भागवण्डा नमिलेपछि तीन महिनाका लागि अधिवेशन स्थगित भएको हो । अधिवेशन २७ र २८ पुसको लागि तोकिएको थियो । अधिवेशनको उद्घाटन उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाल्छाले गर्नुभएको थियो ।

गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेयले भने निर्वाचन नियमावली बनाउन पर्ने भएकाले अधिवेशन रोकिएको बताउनुभयो । तर उद्योग वाणिज्य संघमा राजनैतिक हस्पक्षेप बढी भएकाले निर्वाचनमै जानुपर्ने अवस्थाको सृजना भएको व्यावसायीहरुको गुनासो छ । ‘उद्योग वाणिज्य संघ दलको चंगुलमा फस्यो, जसले धेरै व्यावसायीमा असन्तुष्टि सृजना ग¥यो,‘संघका पूर्व एक पदाधिकारीको  भनाइ रहेको छ । भागभण्डामै कुरा नमिलेर स्थगित भएको हो । गुल्मी उद्योग वाणिज्य संघमा अधिवेशनको एक साता अगाडि नै अध्यक्षसहितका धेरै पदाधिकारी र सदस्यहरुमा दलगत सहमति भएको थियो । त्यस्तै सदस्य पदका उमेदवार नेत्र पाण्डेयले गुल्मी उद्योग वाणिज्य संघ दलहरुको अखडा बन्दै गएकाले समस्या आएको बताउनुभयो । ‘कांग्रेसभित्रै विवाद रह्यो, उपाध्यक्षसहितको पदमा कुरा मिलेन,’उहाँले भन्नुभयो,‘सबै व्यावसायी लज्जित भएका छौँ ।’ पाण्डेयले निर्वाचनको कार्य तालिका समेत प्रकाशन गरेर अहिले नियमावली खोज्नु नौटंकी नाटक भएको प्रतिक्रिया दिनुभयो ।

यता नेकपा सचिव बुद्धि जिसीले आफूहरुको तर्फबाट कुनै पदमा विवाद नभएको तर कांग्रेसमा विवाद भएका कारण सहमति खोज्नैकै लागि तीन महिना स्थगित गरिएको बताउनुभयो । ‘कांग्रेसभित्र तत्काल समाधान भेटिएन,’उहाँले भन्नुभयो,‘दुई÷चार दिनभन्दा तीन महिनानै स्थगित गर्न सुझाव दिएका हौँ ।’ वाणिज्य संघमा नेपाली कांग्रेसलाई अध्यक्ष, एक उपाध्यक्ष, महासचिव, सहकोषाध्यक्षसहित बहुमत सदस्य दिने निर्णय भएको थियो भने नेकपालाई एक उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच सदस्य दिने दलगत निर्णय भएको हो । तर सहमति कार्यान्वयन नभएपछि निर्वाचन स्थगित भएको छ । पदाधिकारी तहमा यो विवाद बाहिर ल्याउन नखोजिए पनि धेरैलाई नेतृत्व र दलको यो कदमको विरोध गरेका छन् ।