भूकम्पपछि बनेका घरको मापदण्डको आधारमा अनुदान उपलब्ध गराइने

१ माघ २०७५, मंगलवार ०९:५९

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताउनु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सोमबार बालुवाटारमा सम्बोधन गर्दै उहाँले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख  गर्नु भयो ।

“भूकम्पले खानेपानीका धेरै संरचनामा क्षति पु¥यायो, ती संरचना खानेपानी मन्त्रालय, प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा पुनर्निर्माण हुन्छ, पुनर्निर्माण सबैको साझा कर्तव्य हो मिलेर जानुपर्छ, २०७२ साल माघ २ गते नै शिलान्यास भएका संरचना पनि विवादमा अल्झिएर बनेनन्,” प्रधानमन्त्री ओलीले भन्नु भयो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूकम्प कम प्रभावित १८ जिल्लाको पुनर्निर्माण सुस्त रहेकाले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वर्तमान सरकार गठन भएपछि पुनर्निर्माणले गति लिएको तथ्याङ्क प्रस्तुत गर्नु भयो ।   हालसम्म तीन लाख ४७ हजार ८१७ घर पुनर्निर्माण भएको  उहाँले जानकारी दिनु भयो ।