काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले राम्रो काम गर्न नसकेको बताउनु भएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा कर्मचारी समायोजन अध्यादेश–२०७५ अस्वीकार गरियोस् भन्ने सूचना पढेर सुनाउँदै उहाँले सरकारले कर्मचारी समायोजन अध्यादेशका नाममा भएका संस्था मारेर शान्ति र सृमद्धि ल्याउन उद्यत रहेको भन्दै सरकारले राम्रो काम नगरेको बताउनु भएको हो ।
“समस्या अध्यादेश प्रस्तुत गर्ने तरिकामामात्र छैन, विषयवस्तुमा पनि छ । हो, कर्मचारी पठाएको ठाउँमै जानुपर्छ ।
उहाँले कर्मचारी समायोजन ऐन–२०७४ एक वर्षसम्म कार्यान्वयन नगरी र अन्ततः खारेज गर्ने गरी अध्यादेश आएको भन्दै यो निजामती सेवा ऐन–२०५९को धारा ५८ प्रतिकूल रहेको ठहर गर्नु भएको हो ।
“निजामती सेवा ऐन–२०५९ को दफा ५८को निजामती कर्मचारीको सेवा सर्त बदल्दा कर्मचारीसँग लिखित रुपमा मञ्जुरी लिनुपर्छ । अहिले गर्न खोजिएको सेवा सर्त बदल्ने कुरा हो । अतः यो अध्यादेश मनोमानी, स्वेच्छाचारी र विभेदकारी ढंगले ल्याएको छ । समान सर्त, सेवा भएका कर्मचारी कोही श्रेणीगत कोही तहगत कोही छन् । कोही तलैमात्र गएर बस्नुपर्ने बनाइएको छ । कोही माथि गएर बस्न पाउने छन्,” उहाँको ठहर छ ।
सांसद थापाले निजामती कर्मचारी आउने ठाउँ विशिष्ट प्रकृतिको रहेको सत्ता र सरकारसँग नजिक रहेर काम गर्नुपर्ने, सँगसँगै पूर्वाग्रहबाट प्रेरित भएर काम गर्ला भनेर रोक्नु पनि पर्ने भएकाले कस्ता कर्मचारी नियुक्त गर्ने भन्ने विषयमा बहस गर्नुपर्ने खाँचो औँल्याउनु भयो ।
