सहिद दिवसका अवसरमा राष्ट्रपतिबाट शुभकामना

१६ माघ २०७५, बुधबार ११:५४

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसले सबैलाई सहिदको सपना साकार पार्नका लागि आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।

सहिद दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले विगतमा सहिदले गरेको योगदानको फलस्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेको बताउदै नेपालको संविधानबमोजिम पहिलो पटक स्थानीय तह, प्रदेश र संघको निर्वाचन भई प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वा्चित संस्था र सरकार कटिबद्ध रहेको बताउनु भएको छ ।सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई सुदृढ पार्न सम्बद्ध सबैले आआफ्नातर्फबाट खेल्नुपर्ने भूमिका थप प्रभावकारी तुल्याउन सके सहिदप्रति वास्तविक सम्मान हुने राष्ट्रपतिले विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सघीय लोकतान्त्रिक गणतन्त्र लगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय सहिदलाई जाने बताउनु भएको छ ।उहाँले आज शुभकामना सन्देश दिँदै नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका सन्दर्भमा सहिदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुको विकल्प नभएको बताउनु भएको छ ।