अनियमित वर्षाले घट्न थाल्यो उत्पादन

२२ पुष २०७५, आईतवार ०९:४९

तेह्रथुम,भोजपुर,सुनसरी — पानीका मुहान सुक्दै जाने, वर्षा पनि समयमा नहुने भएपछि गाउँमा समस्या पर्न थालेको छ । घरायसी प्रयोजनका लागि मात्र होइन, यसले कृषिमा पनि प्रभाव पारिरहेको छ ।

स्थानीय बासिन्दा खडेरीका बेला कसरी जीवनयापन गर्न सकिन्छ भन्ने उपायको खोजीमा लागेका छन् । यसका लागि सरोकारवालाबीच छलफल गरी उपाय पहिल्याउने प्रयास सुरु भएको छ । मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि ‘अनुकूलनका योजना’ बनाउन थालिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष गणेश सेनले बताए ।उनका अनुसार प्रकोपसँग जुध्ने उपाय खोज्न गाउँलेबीच छलफल थालिएको छ । तेह्रथुममा मोटरबाटो खन्ने लहर सुरु भएसँगै पानीको मुहानमा असर देखिएको उनीहरूको अनुभव छ । सडकका कारण हरियो वन जंगल मासिएको र पानीका मुहान सुकेको छथर गाउँपालिका–२ का भूपाल कार्कीले बताए ।वातावरणमा भएको परिवर्तनको असर कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलस्रोत तथा ऊर्जा, मानव स्वास्थ्य, सहरीकरण तथा भौतिक पूर्वाधार क्षेत्रमा प्रत्यक्ष देखिएको गाउँलेको निष्कर्ष छ । गाउँमा सडक निर्माण गर्दा डोजर प्रयोग गरिएपछि पानीका मुहान सुक्न थालेको फेदाप गाउँपालिका सिम्लेका दोर्ण माझी बताउँछन् ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखाले पछिल्लो समय यस विषयमा जिल्लाभर छलफल चलाइरहेको जनाएको छ । छलफलपछि महासंघले गाउँलेकै प्रत्यक्ष सहभागितामा अनुकूलन योजना बनाइरहेको छ । छलफलबाट तयार हुने योजना परिमार्जनपछि सबैजसो स्थानीय तहमा कार्यान्वयनका लागि पठाउने तयारी भइरहेको महासंघले जनाएको छ ।

वर्षा अनियमित हुँदा कृषि उत्पादनमा उतारचढाव आएको, कृषि बालीमा नयाँ प्रजातिका रोग, किरा र संक्रमण देखिएको, बिरुवाको फूल फुल्ने, फल लाग्ने र पाक्ने समयसमेत अघिपछि भएको ग्रामीण बासिन्दाको भनाइ छ । वनक्षेत्र र खेतबारीमा वनमारा र किर्ने काँडाजस्ता मिचाहा प्रजातिका झार फैलिँदा स्थानीय प्रजातिका बोटबिरुवा मासिएको उनीहरूको अनुभव छ ।

मुहान सुकेका कारण पिउने र सिँचाइ गर्ने पानी अभाव भएकाले सरकारले राष्ट्रियस्तरमै अनुकूलन कार्यक्रम ल्याउनुपर्ने गाउँलेले बनाएको योजनामा उल्लेख छ । पहाडका उच्च बस्तीमा पछिल्लो समय लामखुट्टे र औलो ज्वरोको प्रकोप देखा परेकाले त्यसको समाधानका लागि सरकारले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।

धान उत्पादन घट्यो

खडेरीका कारण यो वर्ष भोजपुरमा धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा साढे ५ हजार मेट्रिकटन धान उत्पादन कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।पर्याप्त सिँचाइ अभाव, विभिन्न रोग र किराको प्रकोपले गर्दा पोहोरको तुलनामा १६ प्रतिशत हाराहारी उत्पादनमा ह्रास आएको हो । गत वर्ष ३६ हजार ३ सय १८ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष ३० हजार ७ सय ५६ मेट्रिकटन मात्र उत्पादन भएको केन्द्रले जनाएको छ ।

आकाशे पानीको भरमा खेती गरिने भएकाले वर्षामा कम पानी परेपछि धान उत्पादनमा ह्रास आएको केन्द्रका प्राविधिक सहायक विशाल राईले बताए । उनका अनुसार किसानको आधुनिक खेतीतर्फको बढ्दो आकर्षण र उन्नत प्रकारको हाइब्रिड बीउको सट्टा परम्परागत पुरानै धानको बीउको प्रयोग गर्ने गरेकाले उत्पादनमा कमी आएको हो । वर्षातको मौसममा पानी नपरेपछि षडानन्द नगरपालिका–४ का कृषक भरत बस्नेतले यस वर्ष १४ मुरी मात्र धान भित्र्याएका छन् । अघिल्लो वर्ष उनले २६ मुरी भित्र्याएका थिए ।

रामप्रसाद राई गाउँपालिका–४, दलगाउँका किसान भोला सुवेदीको व्यथा उस्तै छ । ३० मुरी धान उत्पादन हुँदै आएको खेतमा यस वर्ष जम्मा १४ मुरी मात्र उत्पादन भएको छ । उनले भने, ‘अर्को वर्षका लागि बीउ उत्पादन भयो, कतिपयको खेतमा त बीउ राख्न पुग्ने पनि उब्जाउ भएन ।’

जिल्लाको उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्छ । जिल्लाको २० हजार एक सय तीन हेक्टरमा धान खेती गरिन्छ भने ४ हजार सात सय २५ हेक्टर बाँझै रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

भोजपुरमा खेतीयोग्य जमिन ६२ हजार दुई सय ९९ हेक्टर छ, त्यसमध्ये २० हजार एक सय ३ हेक्टर खेत छ । जिल्लाका सात हजार एक सय ९० हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ हुन्छ । कुल खेतीयोग्य जमिनको ३०।८० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा छ ।

वैकल्पिक खेती

सप्तकोसी किनारमा धानखेती वा फलफूल तरकारी खेती हुनुपर्ने हो । नदी आसपास क्षेत्रमा सिँचाइ सुविधा नहुँदा यस्तो अवस्था छैन । आकाशे पानीको भरमा खेती किसानी गर्ने बराहक्षेत्रको राजाबास, प्रकाशपुर र चक्रघट्टीका किसान अचेल तरुल खेतीमा लागेका छन् ।

उक्त क्षेत्र सानो भए पनि मुलुकमै सबैभन्दा बढी तरुल उत्पादन गर्ने ‘पकेट एरिया’ का रूपमा चिनिन थालेको छ ।

माघे संक्रान्ति आउनु तीन साताअघिदेखि काठमाडौं, पोखरा, वीरगन्ज, जनकपुर, बुटवल, धरान, इटहरीलगायत स्थानका व्यापारीले बैना गरिसकेका छन् । तरुल खेतीको सुरुआत गर्ने राजाबासका भक्त सापकोटाले भने, ‘सिँचाइ सुविधा नभएकाले पाँच वर्षअघि रातो हात्तीपाइले तरुल रोपें । निकै उत्पादन भयो ।

धरान, इटहरीका बजारमा लगेर बिक्री गरियो । हुन्छ कि क्या हो भनेर अलिअलि गर्दै सात कट्ठा जमिनमा खेती गर्न थालेको, यो वर्ष त करिब तीन लाख रुपैयाँको उत्पादन भएको छ ।’ उनीजस्तै तरुल खेती गर्नेहरू गाउँमा दर्जनौं छन् ।

उनीहरूले वार्षिक २ करोड रुपैयाँको तरुल उत्पादन गरेर अन्यत्र निकासी गर्ने गरेका छन् । तरुल उत्पादन बढे पनि उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकेको सापकोटाले बताए । उनका अनुसार पहिल–पहिले एक–दुई बोट रोप्ने किसानले अहिले व्यावसायिक खेती गरिरहेका छन् ।

किसानले तरुल मात्रै होइन, तरुलको लहरा र जरामा फल्ने साना बीउसमेत बेचेर कमाइ गर्न थालेका छन् । गाउँमा प्रतिकेजी एक सय रुपैयाँले बीउ बिक्री हुने गरेको छ । करिब तीनसय घरले तरुल खेती गरिरहेकाछन् । आकाशे पानीको भरमा धान, मकै, कोदो, जौ, गहुँ खेती गर्दा २५ हजार रुपैयाँको पनि उत्पादन नहुने ठाउँमा तरुल खेतीले किसानलाई उकासेको उनले बताए ।

उनका अनुसार यहाँबाट अघिल्लो वर्ष पुस अन्तिम साता १० ट्रक तरुल काठमाडौं निकासी भएको थियो । यस पटक ३० ट्रक तरुल पठाउन लागिएको छ । उनले भने, ‘अरु अन्नबालीजस्तो धेरै स्याहार गर्न नपर्ने, मनग्गे कमाइ पनि हुने । अधिकांशले तरुल खेती गरेर वार्षिक दुईरअढाई लाखसम्म कमाउने गरेका छन् ।’

राजाबासका तरुल कृषक धनप्रसाद लिम्बू, प्रकाशपुरका भीम कार्की र प्रकाशपुर मंगलबारेका रोशन कटवालका अनुसार व्यापारीले प्रतिकेजी ५० रुपैयाँका दरले बारीमै आएर लैजाने गरेका छन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।