एक वर्ष नहुँदै सरकारप्रति नागरिक असन्तुष्टः डा प्रकाश् शरण महत

१५ पुष २०७५, आईतवार १६:०२

ताप्लेजुङ । नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाश् शरण महतले अव नेपाली जनता नाराको पछि नलाग्ने बताउनु भएको छ । नेपाल विद्यार्थी संघ ताप्लेजुङको १२ औँ जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै डा महतले कम्युनिस्ट सरकारले नारा मात्र दिएको आरोप लगाउनु भयो ।


एक वर्ष नहुँदै सरकारप्रति नागरिक असन्तुष्ट रहेको भन्दै उहाँले नाराले मात्रै देश नचल्ने बताउनु भयो । ‘अहिले आमनागरिकले देश विकास नाराले मात्र हुँदैन भन्ने वुझ्न थालेका छन् ।’ सहमहामन्त्री डा। महतले भन्नु भयो , ‘अब हामी सबले पनि अझै धेरै नागरिकलाई सुचित गराउनु पर्छ ।’

देश विकासको लागि नाराकोपछि भन्दा पनि काम गर्नेको पछि लाग्नुपर्ने भन्दै गाउँ गाउँवाट अव नेपाली कांग्रेसका कार्यकर्ता जागरुक भएर उठ्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । उहाँले उत्पादनमुखि आर्थिक नीति बन्नुपर्नेमा जोड दिँदै सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्र्टीमुखी आर्थिक नीतिलाई मात्र जोड दिएको बताउनु भयो ।

आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सृजना गरी लगानी र आर्थिक गतिविधि बढाउने गरी आर्थिक नीति निर्माण गर्नुपर्ने उहाँको  भनाई थियो ।उहाँ ले वर्तमान सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्र्टीमुखि आर्थिक नीतिलाई मात्र जोड दिएको आरोप लगाउनु भयो  । ‘सरकारले अहिले लिएको सुखि नेपाल, समृद्ध नेपालीको नारा हाम्रै पार्र्टीको नारा हो, तर अहिले सरकार गएको बाटोबाट यो सम्भव छैन, यसलाई हाम्रो पार्र्टीले पूरा गर्नुपर्छ ।’

सह–महामन्त्री डा। महतले वर्तमान अवस्थामा देशका १० प्रतिशत आर्थिक वृद्धिदर पुग्नुपर्नेमा ६ प्रतिशत पुग्न पनि मुश्किल भएको, विदेशी लगानी घट्दै गएको र स्वदेशी पूँजी विदेश पलायन हुँदै गएको, बैंकको ब्याजदर बढ्दै गएको, मंहगी बढ्दै गएको आरोप लगाउनु भयो  ।