राष्ट्रपति र उपराष्ट्रपति द्दवारा ‘तमु ल्होसार’को शुभकामना

१५ पुष २०७५, आईतवार १०:२९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘तमु ल्होसार’जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताउनु भएको छ ।

‘तमु ल्होसार’को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा संवर्द्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै यस्ता पर्वले आपसी सद्भाव बढाई आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गुरुङ समुदायको मुख्य पर्व ‘तमु ल्होसार’को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको कामना गर्नु भएको छ ।

उपराष्ट्रपति पुनले आज एक शुभकामना सन्देश दिँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताउनु भयो ।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उनले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी समिश्रण एवम् साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दका लागि संसारभरि नै सुपरिचित रहेको उल्लेख गर्नु भयो ।

उपराष्ट्रपति पुनले विविधताबीच राष्ट्रिय एकता हुनु नेपालीको विशेषता हो भन्दै हाम्रा मौलिक धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने बताउनु भयो ।
पुनले तमु ल्होसारले नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने तथा मौलिक संस्कृतिको संरक्षण एवम् प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।