लोकगायक लामिछानेको निधन

१३ पुष २०७५, शुक्रबार १६:०५

काठमाडौं– लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ लामो समयदेखि विभिन्न रोगबाट पीडित हुनुन्थ्यो । उहाँको उपचारमा सहयोग गरिरहेको विनयजंग बस्नेतले लामिछानेको शुक्रबार निधन भएको पुष्टि गर्नु भयो ।सहयोगी बस्नेतका अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित हुनुन्थ्यो ।लामिछानेको शव श्रद्धाञ्जलीका लागि ४ घण्टा घरमा राखेर आजै अन्तयेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।लामिछानेका २ छोरा रहेका छन् । उहाँले वि।सं २०३६ सालदेखि रेडियो नेपालमा गीत गाउन थाल्नु भएको थियो ।स्व लामिछानेका घाँसै काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका लोकगीतहरु चर्चित छन् ।