काठमाडौं । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी एवं शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा आज शुक्रबार बिहान १ बजे निधन भएको छ ।

उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने हेमाटोमा र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिन यतादेखि अलि असहज महसुस गर्दै आएका उनी गएराती शौचालयबाट फर्केपछि सुतेको अचानक निधन भएको पारिवारिक स्रोतले बताएको छ । वि।सं।२००४ साल असोज महिनामा जन्मिएका स्वर्गीय राई वीस वर्षसम्म स्थायी शिक्षण सेवा गरेर सेवा निवृत्त भई सामाजिक सेवामा संलग्न थिए ।आर्दश र निष्ठावान व्यक्तिका रुपमा चिनिने उनी आफ्नो जीवनकालमा गाविस अध्यक्ष तथा ओखलढुंगा जिल्ला विकास समितिको सदस्य भई जीवनभर समाज र राष्ट्रको सेवामा क्रियाशील थिए । स्वर्गीय राईका दुई पत्नी र व्याकुल माइलासहित तीन छोरा छन् । पिताको निधनको खवर सुनेलगत्तै ललितपुर तिखेदेवलमा बस्दै आएका व्याकुल माइला र उनकी धर्मपत्नी नानुकला राई शुक्रबार विहानै ओखलढुंगातर्फ प्रस्थान गरेका छन् । स्वर्गीय राईको राई परम्पराअनुसार शुक्रबार नै ओखलढुंगामा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।
