अख्तियारद्वारा मालपोतका सात कर्मचारीसहित ९ जनामाथि मुद्दा दायर

१२ पुष २०७५, बिहीबार १७:२१

काठमाडौं । नक्कली कागजात बनाई एक व्यक्तिको नाममा रहेको जग्गा अर्को व्यक्तिको नाममा पास गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं डिल्लीबजारस्थित मालपोत कार्यालयका मालपोत अधिकृत केशव प्रसाद न्यौपानेसहित ९ जना माथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीहरुसँग २ करोड ४० लाख रुपैयाँ बिगो दाबी गरी अख्तियारले बुधबार बद्दा दर्ता गरेको हो ।

अख्तियारले किर्ते गरी जग्गा पास गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाहरुमा डिल्लीबजार मालपोतका कार्यालयका मालपोत अधिकृत राजेन्द्रप्रसाद फुयाँल, नायब सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, मालपोत कार्यालय दमक झापाका मालपोत अधिकृत अग्नी घिमिरे, नायब सुब्बा डिल्लीराम कोइराला, नायब सुब्बा जयन्द्रराज खड्का, बयरवन–९ मोरङका फौदराज लिम्बु र अधिवक्ता चन्द्रप्रसाद खनाल रहेका छन् । यी मध्ये दुई जना लिम्बु र खनालसँग मात्र जनही १ करोड २० लाख रुपैयाँ विगो दाबी गरिएको छ ।
अख्तियारले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीहरुको मिलेमतोमा टेकमा आङहाङ मावोहाङको नाममा झापाको दमक नगरपालिका वडा नं।४ मा पर्ने कित्ता नं।४८७३ र ४८७५ को जग्गा किर्ते गरी अर्काको नाममा नामसारी गरिएको जनाएको छ । उनीहरुले साढे २ रोपनीभन्दा बढी जग्गा किर्ते गरी नक्कली नक्कली दर्ता प्रमाणपूर्जी बनाई मालपोत कार्यालय डिल्लीबजारबाट २०६९ फागुन ३१ गते पास गरेको जनाइएको छ ।
पीडित पक्षले जग्गा किर्ते गरेको उजुरी अख्तियारमा दिएपछि अनुसन्धान थालिएको थियो । अनुसन्धानका क्रममा मालपोतका कर्मचारीहरु, लिम्बु र खनाल दोषी देखिएको उनीहरुमाथि मुद्दा चलाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
“सम्बन्धित मालपोत कार्यालयमा सुरक्षित रुपमा राख्नुपर्ने जग्गाको स्वामित्वसँग सम्बन्धित महत्वपूर्ण प्रमाणको रुपमा मानिने अत्यन्त संवेदनशील लिखत ठेलीमा घुसाइएको पाइयो । साथै सोही गैरकानुनी लिखतलाई यस कार्यालयबाट पारित भएको भनी सक्कलै लिखत र सोसँग संलग्न कागजातहरुको फोटोकपी प्रमाणित गरी सम्बन्धित मालपोत कार्यालयमा दाखिला खारेजको लागि पठाई सोही गैरकानुनी लिखतको आधारमा मालपोत कार्यालयका जिम्मेवार कर्मचारीहरुले नै एक व्यक्तिको जग्गा दाखिला खारेज गरी अर्कैको नाममा हक–हस्तारण गरी व्यक्तिको सम्पत्तिमाथिको अधिकार हनन भएको देखिएको,” अख्तियारले विज्ञप्तिमा भनेको छ ।