फोरम र राजपाले तराई, मधेशका जनतालाई निराश बनाएः हृदेश त्रिपाठी

८ पुष २०७५, आईतवार १०:४५

काठमाडौ । स्वतन्त्र राजनीतिक समूहका नेता एवम् सांसद हृदेश त्रिपाठीले अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको टिप्पणी गरेका छन् ।शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै सांसद त्रिपाठीले अर्थमन्त्रीको गतिविधिले गर्दा वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।उनले भने,‘यो सरकारलाई बढि प्रभावित चाहीँ बजेट प्रस्तुतिले पनि गरेको हो । र, अर्थमन्त्रीको गतिविधिले पनि सरकारलाई प्रभावित गरेको छ ।’अधिकांश सरकारको सफलता र विफलता ५० प्रतिशतभन्दा बढि त अर्थमन्त्रालयको गतिविधिमा निर्भर गर्ने उनको भनाई छ । उनले थपे,‘बजेट जुन दिन प्रस्तुत हुन्छ, त्यही वेलादेखि चर्चा सुरु हुन्छ । तर, ठाउँमा पुग्न चार–पाँच महिना लाग्छ ।’

नेपालको अर्थतन्त्रको सबैभन्दा कुरुप कुरा नै विकास खर्च पूरा गर्न नसक्नु रहेको उनको भनाई छ । त्रिपाठीले थपे,‘२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यैपनि पूरा गर्न सकेनौं । जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रुपमा बजारलाई चलायमान र जनतालाई पनि विकासप्रति आकर्षित गर्ने काम गर्न सक्दैन् ।’
संसदमा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदाहुँदैपनि विकास खर्च गर्न नसकेको उनले आरोप लगाए । उनले भने,‘सरकारले बरु विकास खर्च गर्न किन सकिएन भनेर समिक्षा गर्नुपर्ने हो, कानुनमा त्रुटि छ भने कानुन संशोधन गर्नुपर्यो । यदि संरचनाको अभाव छ भने पनि संरचना निर्माण गर्नुपर्यो । तर, सरकार त्यतातर्फ गएको देखिँदैन् । अहिलेसम्म विकास खर्च ५र६ प्रतिशतमै अलमलिएर बसेको छ। यदि यही प्रक्रिया कायम रह्यो भने सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुनेछ।’

नेता त्रिपाठीले सरकारको गतिविधिबारे स्वयम सत्तारुढ दल नेकपाका नेताहरुपनि सन्तुष्ट नरहेको स्थायी समितिको बैठकबाट प्रष्ट भैसकेको बताए । सरकारसँग समय र संख्याको अनुकुलता रहेकोले आगामी दिनमा यसले आफ्नो प्रस्तुतिलाई सच्याए सही दिशामा अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले जनाए ।
फरक प्रसँगमा उनले स्वतन्त्र राजनीतिक समूहलाई कसरी अघि बढाउने भन्नेबारे गत मंसिर २८ गते काठमाडौंमा आफूहरुले छलफल गरेको सुनाए । उनले भने,‘हामीले यो समूहलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्यौं, एउटा त हामीबीच यही समूहलाई नै विस्तार गरौं, अघि बढाउने र सक्रिय बनाउनेबारेपनि छलफल भयो । अर्को, नेकपासँगको एकता वार्तालाई सार्थकता दिनेबारेपनि छलफल गर्यौं । र, तेस्रो यही समूहलाई पार्टीको रुपमा अघि बढाउनेबारेपनि कुरा भएको थियो ।’ त्रिपाठीले अहिले पार्टी गठनको खाँचो नै नरहेको जिकिर गरे ।