काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बिहीबारमात्रै विधान संशोधनको प्रस्ताव पेस हुने भएको छ । विधान प्रस्ताव पेस भएपछि बिहीबारबाटै महासमितिको बन्दसत्रमा छलफल हुनेछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बिहानको ‘प्रेस ब्रिफिङ’ मा विधान मस्यौदालाई अन्तिम टुंगोमा पुर्याउन बिहीबार दिउँसो बैठक बस्ने बताए । ‘‘
उनका अनुसार कांग्रेसको महासमिति बैठक बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानोपामा बस्नेछ । बैठक पुस ६ गते अपरान्हसम्म चल्ने उनले जानकारी दिए । यसअघि कांग्रेसले मंसिर २९ गते उद्घाटन भएको महासमिति बैठक पुस ४ गते समापन हुने बताएकोे थियो । संस्थापन र संस्थापन इतर समूहबीच विधानमा सहमति जुट्न ढिलाइ भएका कारण महासमिति बैठक लम्बिन पुगेको हो ।
पुस १ गतेबाट सुरु भएको महासमितिको बन्द सत्रमा अहिलेसम्म १४७ जना महासमिति सदस्यहरुले विधान प्रस्ताव बाहेकका प्रतिवेदनहरुमा केन्द्रित रहेर धारणा राखिसकेका छन् । बुधबारको ‘लञ्च ब्रेक’ अगाडिसम्म २५ जना महासमिति सदस्यहरुले धारणा राखेको प्रवक्ता शर्माले जानकारी दिए ।
