काठमाडौं–सत्तारुढ दल नेकपाको बुधबारको स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनको खुलेर आलोचना भएको छ ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको सोमबार, मंगलबारको बैठकमा झैं आज बुधबार पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका हुन् ।
बैठकमा सुरेन्द्र पाण्डे, वर्षमान पुन, देव गुरुङलगायतका ८ जना नेताहरुले राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफलमा भाग लिएका थिए । विचार, राजनीति, भावी कार्ययोजनालगायतका विषयमा केन्द्रित भएर आजको बैठकमा पनि नेताहरुले आ–आफ्नो धारणा राख्नु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय ओली र दाहालले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको हो ।
छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन ।
