महासमिति सदस्यमा देव लिम्बू मनोनित

१ पुष २०७५, आईतवार १३:१८

काठमाडौं, नेपाली कांग्रेसको ६ वर्षपछि भएको महासमिति वैठक आजबाट औपचारिक रुपमा शुरु भएको छ ।पुष ३ गतेसम्म चल्ने वैठकका लागि कांग्रेस केन्द्रिय कमिटीको वैठकले महासमिति सदस्यहरुको टुङ्गो लगाएको छ । महासमिति सदस्यमा देव लाबुङ लिम्बूलाई समेत मनोनित गरिएको छ । विजयकुमार गच्छदारले नेतृत्व गरेको तत्कालीन लोकतान्त्रिक फोरमबाट लिम्बूलाई महासमिति सदस्यमा मनोनित गरिएको जनाइएको छ ।

कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रस्ताव गरेको हिन्दु राष्ट्रको एजेण्डा पनि यही समितिका सदस्यले टुङगो लगाउने छन् । महासमिति बैठकमा यसअघि कायम भएका २४० निर्वाचन क्षेत्रबाटै ५–५ जनाका दरले एक हजार दुई सय सहभागी हुनेछन् । केन्द्रिय पदाधिकारीसहित केन्द्रिय सदस्यहरू, १२ औँ महाधिवेशनका केन्द्रिय सदस्यहरू रहने छन् ।

कांग्रेसमा लामो समय विताएका लिम्बू अशोक राईले संघीय समाजवादी गठन गरेपछि त्यतैतिर लागेका थिए । उनले समाजवादीमा युवा संगठन प्रमुखको जिम्मा सम्हालेका थिए । युवा संगठनको प्रमुख हुँदा नै उनले २०७० सालमा भएको निर्वाचनमा झापा ५ बाट प्रत्यक्ष निर्वाचन लडेका थिए । तर, केशवकुमार बुढाथोकीसँग पराजित भएका थिए ।

विद्रोही स्वाभावका लिम्बू उपेन्द्र यादवको पार्टी फोरमसँग एकता गर्ने भएपछि असन्तुष्ट भएका थिए । उनले अन्ततः अशोक राईले पार्टी मधेशलाई बुझाएको भन्दै पार्टीमा विद्रोह गरेर केही कार्यकर्ता लिएर बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेका थिए ।

तर, नयाँ शक्तिमा पनि लिम्बू टिक्न सकेनन् । बाबुराम मधेससँग मिलेको उनले आरोप लगाउँदै विद्रोह गरे । भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा भट्टराई बिरोध गर्न छाडेर उल्टै लम्पासार परेको आरोप लगाउँदै लिम्बूले नाकाबन्दीको बिरोध गरेका थिए ।

उनलाई त्यहाँ पनि संयोजक भट्टराईलाई आरोप लगाएकाले पार्टी निष्काशन गर्ने तयारी गर्दै गर्दा विजयकुमार गच्छदारको पार्टी लोकतान्त्रिक फोरममा आश्रय खोज्न पुगेका थिए । लिम्बूले लोकतान्त्रिक फोरममा पनि प्रचारप्रसार बिभाग प्रमुखको भूमिका पाएका थिए । कांग्रेससँग लोकतान्त्रिक फोरम समाहित भएपछि गच्छदारकै पछि लागेर लिम्बू पुन कांग्रेसमा पुगेका हुन् ।