जलवायु परिवर्तनबाट नेपाल विश्वकै जोखिममा

१९ मंसिर २०७५, बुधबार १६:१४

 

काठमाडौं ।

जलवायुसम्बन्धी ग्लोबल रिस्क इन्डेक्स २०१९को एउटा तथ्यांकले नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रहरुको सूचीमा रहेको पाइएको छ । उक्त तथ्य जर्मनीको थिंक ट्यांक संस्था जर्मन वाचद्वारा प्रकाशित ब्रिफिङ पेपरमा उल्लेख छ ।

अहिले पोल्याण्डमा जलवायुसम्बन्धी विश्व सम्मेलन चलिरहेको बेलामा सो संस्थाले ब्रिफिङ पेपर सार्वजनिक गरेको हो ।जलवायु सम्बन्धी जोखिममा बाढी, आँधी, तातो हावालगायतको खतरा रहेको सो प्रक्षेपणमा जनाइएको छ । प्रतिवेदनमा विकसित मुलुकको तुलनामा अविकसित मुलुक यस्ता जोखिमबाट बढी प्रभावित हुने जनाइएको छ । यद्यपि जलवायु परिवर्तनको जोखिम सिर्जनामा भने विकसित मुलुकहरुको संलग्नता बढी रहेको छ ।

सूचीमा सबैभन्दा बढी जोखिममा प्युर्टोरिकोलाई राखिएको छ भने दोस्रोमा श्रीलंका, तेस्रोमा डोमिनिका र चौथोमा नेपाल रहेका छन् । टप टेन सम्म जोखिममा रहेका राष्ट्रमा पेरु, भियतनाम, मडागास्कर, सियरालियोन,बंगलादेश र थाइल्याण्ड रहेका छन् ।