‘यो सम्झिने मन छ, म बिर्सु कसोरी
तिमी नै भनिदेउ एजाने नि निठुरी’
नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ ।

केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठिकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए,सबै गीत त्यति नै उचाइका छन् ।

विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे उनले आफ्नो साङ्गीतिक यात्रा शुरु गरेका थिए ।सबैभन्दा पहिला उनले साथी मणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए । पहिलो पटक उनले त्रिचन्त्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए ।
नारायण गोपालको भेट दाजर्लिङ यात्राका क्रममा त्यहाँका सङ्गीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरुको मितेरी साइनोसमेत जोडिएको थियो ।
नारायण गोपालले धेरैजसो योञ्जनका गीत नै गाएका थिए । उनलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उनले दार्जिलिङका हरिभक्त कटुवालका गीतसमेत गाएका थिए ।
‘जुन फूल मैले टिपेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उनले गाएका थिए । दार्जिलिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भएको थियो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भए पनिनजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको भएको सङ्गीतकार भूपेन्द्र रायमाझी बताउँछन् । सङ्गीतकार रायमाझी भन्छन्, उहाँको सद्भाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग सङ्गत गरेको उनी बताउँछन् ।
नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत शब्द दिएका थिए । उनले गाएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय छ । आफ्ना समकालीन ‘तारादेवी’, ‘नातिकाजी’, ‘शिवशङ्कर’, ‘रत्नदास’, ‘प्रेमध्वज प्रधान’, ‘बच्चु कैलाश’ लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिएका थिए ।
उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडाशैनीलगायतको शब्दमा स्वर दिएका थिए । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उनका गीतका प्रमुख विशेषता हो । उनले पहिलोपटक प्रेमध्वज र मणिकको सङ्गीतमा गीत गाएका थिए । नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने निर्देशक तथा लेखक प्रकाश सायमीको भनाइ छ ।
