काठमाडौं
मार्ग कृष्ण त्रयोदशी। बुधबार साँझ पशुपतिनाथलगायत शिवालियमा पितृका नाममा दीप प्रज्ज्वलन गरी जाग्राम बसिँदैछ। यसलाई पितृका नाममा दीपदान गरेको भनिन्छ। त्रयोदशीको रात जाग्राम बसी भोलिपल्ट ब्राह्म मुहूर्त्तुमा दीप नदीमा सेलाई स्नान गरी शिवालयमा शतबीज छर्ने परम्परा छ।

विशेषगरी पशुपतिनाथ क्षेत्रमा छरिने शतबीजको विशेष महत्त्व रहेको धर्मशास्त्राचार्य, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतम बताउँछन्। पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकुल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा बत्ती बगाउँछन् र शिवालय पुगी शतबीज छर्छन्। बोलीचालीको भाषामा ‘सद्बिउ छर्ने’ भनिने शतबीज रोपणले पितृहरूको उद्धार हुन्छ भन्ने विश्वास छ।
मंसिरको चिसो काट्न कठिन हुने भएकाले बत्ती बाल्नेसँग गएकाहरूले रातभर भजनकीर्तन गर्छन्। केही वर्षयता भने चलनचल्तीका दोहोरी गाएर रमाइलो गर्ने चलन छ।पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस आउने भएकाले ती ठाउँका लोकभजन र बालनलगायत अध्ययन गर्नेका लागि महत्त्वपूर्ण थलो बन्थ्यो’, लोकसंस्कृतिका अध्येता सहप्राध्यापक डा। भूपहरि पौडेल भन्छन् तर अहिले त्यस्तो कमै भेटिन्छ।
