खाद्य प्रविधि विभागको कामप्रति कृषि राज्यमन्त्री असन्तुष्ट

१८ मंसिर २०७५, मंगलवार १४:००

काठमाडौं

कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्। राज्यमन्त्री चौधरीले खाद्य स्वच्छता अभियान समेत संचालन गर्न नसकेको उल्लेख गर्दै सो विभागको कामकार्वाहीप्रति असन्तुष्टि व्यक्त गरिन्।

मंगलबार काठमाडौंमा आयोजित विभागको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव स्वास्थ्यमा हानी पु¥याउने खाद्य बस्तु विक्रीवितरण गर्नेमाथि किन कार्वाही नगरेको भनी विभागका पदाधिकारीलाई प्रश्न पनि गरिन्। विभागले जनताको दैनिक उपभोग्य दूध, पानीलगायत बस्तु स्वच्छ बनाउने आफ्नो अधिकारलाई समेत प्रयोग गर्न नसकेकोमा राज्यमन्त्री चौधरीको आक्रोश छ।

राज्यमन्त्री चौधरीले विभागले मन्त्रालयको दवावमा मात्रै काम गर्ने गरेको भन्दै आपत्ति पनि जनाइन्। कार्यक्रममा बोल्दै विभागका महानिर्देशक संजीवकुमार कर्णले प्रथम चौमासिकमा नयाँ कार्यालय खोल्ने त्यहाँ कर्मचारी पदस्थापन गर्ने काममा ध्यान दिनु परेकाले अन्य काम गर्न नसकेको बताय।