काठमाडौं
संसदीय सुनुवाइ समितिमा सरकारले सिफारिस गरेका चार देशका राजदूतविरुद्ध उजुरी परेका छैनन्। संसदीय सुनुवाइ समितिका उपसचिव केशव अर्यालले सरकारले भारतका लागि राजदूत सिफारिस गरेका नीलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यविरुद्ध उजुरी नपरेको जानकारी दिए।

समितिले अब ती सिफारिस गरिएका राजदूतहरूको योग्यता, क्षमता र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाउने तयारी भइरहेको अर्यालले जानकारी दिए। समितिले राजदूतमा सिफारिस भएका व्यक्तिहरूको योग्यता, क्षमता र कार्ययोजनामा चित्त बुझे उनीहरूको नाम अनुमोदन गर्नेछ। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरूलाई राजदूत बन्ने बाटो खुला हुनेछ। कार्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले चार देशका लागि राजदूत सिफारिस गरेको थियो।
