काठमाडौं
ललितपुरको एकान्तकुनामा गएराति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो।

कँडेलले चलाएको बा९४प ६१९७ नम्बरको स्कुटर गएराति साढे ९ बजे दुर्घटना भएको हो। सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा१६च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल जावलाखेल पुर्याएका थिए।उनको उपचारको क्रममा राति १० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
उता तनहुँको विमलनगरमा बसको ठक्करबाट आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन्।
म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो।बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा छन्।
