समाजवादको यात्रा महान गम्भीर र लामो यात्रा होः अध्यक्ष प्रचण्ड

१६ पुष २०७५, सोमबार १५:१८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताउनु भएको छ ।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट बिद्रोह गरी आएका नेता तथा कार्यकर्ताहरुलाई सोमबार दिउँसो आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले भन्नु भयो , ‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन । उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताउनु भयो । प्राप्त उपलब्धी सानो र सजिलो गरी नभइ हजारौको बलिदानबाट भएको भन्दै प्रचण्डले भन्नु भयो , समाजवादको यात्रा महान गम्भीर र लामो यात्रा हो । यसका लागि व्यापक एकताको खाँचो पर्छ । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं ती सबै शक्ति एकपल्ट एकजुट हुन जरुरी छ ।कार्यक्रममा विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईलगायत २२ जना नेता तथा कार्यकर्तालाई प्रचण्डले स्वागत गर्नु भएको थियो ।