युवा जनशक्ति निर्यात गरेर कसरी बन्ला देश ?

८ पुष २०७५, आईतवार १५:२१

मुलुकमा सम्भावनै छैन भन्दै वैदेशिक रोजगारमा युवालाई पठाउने माहोल बलियो बन्दै छ यो देशमा । अहिले नेपालमा एउटा गीत भाइरल भइरहेको छ— पैसा होइन, पासो छ परदेशमा, बोलाउँदै छन् आफन्तले स्वदेशमा, पन्छी फर्केर स्वदेश आऊ, शान्तिको गुँड सानु स्वदेशमै बनाऊ । पुष्पन प्रधानको यस गीतले अधिकांश श्रोताको मन छोयो, आँखा रसाए । १८ डिसेम्बरमा भर्खरै अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइयो । अब परिवार र देश छाडेर काम गर्न गएका नेपालीलाई सम्झेर के कमायौ, के गुमायौ भनेर बृहत् समीक्षा गर्ने अनि फर्किन चाहनेलाई राज्यले यस्ता प्याकेज ल्याएको छ, परिवार र देशलाई तिम्रो खाँचो छ, आऊ मिलेर देश बनाऔँ भनेर सन्देश दिने वेला आएको छ

श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या करिब ५० लाख छ । भारतको बाटो भएर वा भारतमा काम गर्नेको राम्रो तथ्यांक छैन । तर, अपसोच हामीले दक्ष कामदार केवल १।५ प्रतिशत पठाएछौँ, बाँकी सबै अर्धदक्ष वा अदक्ष । हुन त वैदेशिक रोजगारबारे हरेकका आफ्नै तीता–मीठा अनुभव छन् । काठका बाकसमा छोराछोरी फर्कनेका परिवारले जीवनभरका लागि पीडा कमाए । कमाएर वा गुमाएर फेरि उतै लाग्नेको संख्या पनि उत्तिकै छ । हिजो जनजाति, मधेसी, दलित भनेर ओझेलमा परेकाले वैदेशिक रोजगारीमा गएर सीप र विप्रेषण भिœयाए । यस मानेमा ओझेलमा परेकाले दह्रो खुट्टा टेके, द्वन्द्वताका अर्थतन्त्र चलायमान बनाउन रेमिट्यान्सले मल्हमपट्टीको गुन पनि लगाएकै हो ।

लामो समय राजनीतिक दल, नीति निर्माताले नेपालीको पसिना र रगत मुलुकमै खर्चिनुपर्छ भनेर सैद्धान्तिक कम्फर्ट जोनमा बसे । विज्ञहरूले अर्कातिर रेमिट्यान्सको अत्यधिकै गुनगान गाए । तर, फर्केर विदेशी एयरलाइन्सले रेमिट्यान्स उनकै देश लगेको भने पत्तै पाइएन । नेपालका सुधार अपर्याप्त रहे, अस्वस्थ प्रतिस्पर्धा, ठगी र शोषण अत्यन्तै मौलायो । रेमिट्यान्सले गरिबी घटेको, बृहत् आर्थिक वातावरण बलियो बनाएकोे विश्लेषण आए, तर ती आधा अधुरै रहे । किनकि युवालाई विदेश जान प्रेरित गर्नेहरूले विप्रेषणले निम्त्याएको पारिवारिक विखण्डन, पारपाचुके, अनाथ बालबालिका, बेचबिखन, यौन तथा श्रम शोषण, काठका बाकसमा फर्किने शव, बाँझा खेतबारीजस्ता सामाजिक मूल्यबारे बुझ पचाउने गरेका छन् । यतिका धेरै सामाजिक मूल्यको विकल्प रेमिट्यान्स हुनै सक्तैन ।

स्वदेशमा रोजगारी नपाएर दैनिक युवा जनशक्ति बिदेसिइरहेका छन् । अर्कातिर करिब २१ अर्ब वार्षिक रोजगारीसम्बन्धी तालिममा खर्च भइरहेको सुनिन्छ । तर, मुलुकमा सम्भावनै छैन भन्दै वैदेशिक रोजगारमा युवालाई पठाउनु नै एक मात्र विकल्प हो भन्ने माहोल भने बलियो बन्दै छ यो देशमा । खोटाङमा ५ कक्षाका बालक फेल हुन रुचाएछन्, किनकि फेल भए आमाबाबुले ऋण काढेरै पनि विदेश पठाइदिन्छन् रे पूर्वका तीन जिल्लामा गरिएको एक अध्ययनमा ‘मर्द को हो’ भन्ने प्रश्न गर्दा अधिकांशले ‘विदेश गएर पैसा कमाउने मान्छे’ भनेछन्, मानौँ स्वदेशका जति सबै लाछी वा नामर्द हुन् । मेरा यतिभाइ छोरा विदेशमा छन् भन्नमा कति बाबुआमाले गर्व गर्ने गरेका छन् । कति शिक्षकले नेपालमा बस्ने वातावरणै छैन, बरु वेलैमा विदेश लाग भनेर विद्यार्थीलाई अर्ती दिन्छन् भन्ने पनि सुनियो । श्रमको सम्मान गर्ने जमर्को भएन, सानो काम गर्दा इज्जत जान्छ भन्ने संस्कार झाँगियो । वैदेशिक रोजगारका यस्ता बेथितिमा हाम्रा प्रवृत्ति र सोचको आत्मालोचना आवश्यक छ ।

वैदेशिक रोजगारमा सबैभन्दा जोखिममा महिला छन् । सुरक्षाका नाममा प्रतिबन्ध लाग्ने र हट्ने सिलसिला कायमै छ । यसले कति महिला सुरक्षित भए वा तस्करी बढ्यो, समीक्षा आवश्यक छ । प्रतिबन्धले अभिलेखबद्ध नभई जाने महिलाको पुरुषसरह क्षतिपूर्ति र बिमामा पहुँच हुन सकेको छैन ।युवालाई विदेश जान प्रेरित गर्नेहरूले विप्रेषणले निम्त्याएको पारिवारिक विखण्डन, पारपाचुके, अनाथ बालबालिका, बेचबिखन, यौन तथा श्रम शोषण, काठका बाकसमा फर्किने शव, बाँझा खेतबारीजस्ता सामाजिक मूल्यबारे बुझ पचाउने गरेका छन्

अब मुलुक संघीयतामा प्रवेश गरेयता वैदेशिक रोजगारीको क्षेत्रमा धेरै परिवर्तनका सम्भावना देखा परेका छन् । नेपालको जनसांख्यिक बनोट हेर्दा काम गर्ने उमेरका ५७ प्रतिशत जनशक्ति छन् । यस मानेमा हामी भाग्यमानी छौँ किनकि युवाको यस्तो जानसांख्यिक बनोट नेपालले न विगतमा पायो न भविष्यमै पाउनेछ । विप्रेषण दिगो आर्थिक विकासको उपाय होइन भन्ने बहस प्रारम्भ भएको छ । गोमूत्रदेखि गुन्द्रकसम्मको आयातले व्यापार घाटा ह्वात्तै बढ्यो । तिहारमा करिब २५ करोडको सयपत्री फुलेछ, २८ करोडको सुन्तला त अर्घाखाँचीमै फलेछ । अर्थात् कृषिमै व्यावसायिक खेतीको प्रचुर सम्भावना देखियो । ठगी नियन्त्रणलाई साथ दिन मलेसियाले द्विपक्षीय सम्झौता गर्नु सकारात्मक छ । नेपालकै इतिहासमा पहिलोपल्ट अदक्ष श्रमिकको संख्या घटाउने घोषणाका साथै फर्केर आउने श्रमिकका लागि सीप, पुँजी र अनुभवलाई स्वदेशमै स्वरोजगार हुन र व्यवसाय गर्न १० लाखको ऋणको घोषणा गरिएको छ । कृषिका छुट्टै स्किम, सामाजिक सुरक्षाका कार्यक्रम आएका छन् । उता, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सात सय ५३ वटै स्थानीय इकाइमा रोजगार सूचना केन्द्र स्थापना गरिँदै छ । यी सूचना पस्केर विदेशका श्रमिकलाई नेपाल फर्कने वातावरण बनाउने अवसर आएको छ । युवा निख्रिएर, व्यापार घाटा चुलिएर शिथिल भएको अर्थतन्त्रलाई सुधार्न सबैले साथ दिनुपर्छ ।यति भन्दाभन्दै पनि फर्केर काम नपाउने, ऋण पाउन झन्झट व्यहोर्नुपर्नेजस्ता समस्या आइनपर्लान् भन्न सकिन्न । यस्ता चुनौतीलाई पहिल्यै सम्बोधन गरी संघ र प्रदेशले बलियोसँग समन्वय गरी इच्छाशक्ति प्रदर्शन गर्नसके हाम्रा बाँझा खेतबारी फेरि हराभरा हुन र पारिवारिक पुनर्मिलन हुन समय लाग्नेछैन । कृषि, पर्यटन, ऊर्जा रोजगारीमा फड्को मार्न सकिनेछ । बुद्ध, सीता जन्मस्थल र सगरमाथा हेर्न पर्यटकको घुइँचो लाग्नेछ । नेपालले ‘समृद्ध नेपाल सुखी नेपालीको’ नारासहित सन् ०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्ने लक्ष्य राखिसकेको छ । त्यसैले, पुष्पनसँगै सबै नेपालीले गाउनैपर्छ— फर्केर आऊ पन्छी, फर्केर आऊ । शान्तिको गुँड सानो स्वदेशमै बनाऊ ।नयाँ पत्रिकाबाट साभार