कालीकोटमा भीषण आगलागी

९ पुष २०७५, सोमबार ११:२०

कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीमा ५२ घर जलेर नष्ट भएको छ भने ठूलो धनजनको क्षति भएको छ ।

आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी हुँदा अहिलेसम्म ५२ घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ ।

मध्य राति आगलागी शुरु भएपनि क्षतिको यकिन हुन सकेको छैन । इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । प्रहरी घटनास्थल पुगेको र आगो निभाउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

गए रातिनै पलाता गाउँपालिकाको निर्माण कार्यदल त्यहाँ पुगेको थियो । सुख्खा क्षेत्र भएको र फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।