आन्दोलनरत विद्यार्थीलाई ७ विद्यार्थी संगठनको ऐक्यवद्धता

४ पुष २०७५, बुधबार १०:४०

काठमाडौं – राष्ट्रिय परिक्षा बोर्डले २०७५ जेठमा सञ्चालन गरेको विज्ञान संकायको कक्षा ११ को परिक्षाको नतिजा प्रकाशनमा लापरवाही भएको भन्दै आन्दोलनरत विद्यार्थीको मागप्रति ७ विद्यार्थी संगठनले ऐक्यवद्धता जनाएका छन् ।

नतिजामा अन्याय भएको भन्दै विद्यार्थीहरु ९ दिनदेखि अनसन लगायतका कार्यक्रम गरी विराध जनाउँदै आएका छन् ।बोर्डको लापरवाहीका कारण आफूहरुको भविष्य नै अन्यौलमा परेको भन्दै विद्यार्थीहरुले सुरु गरेको आन्दोलनमा ७ विद्यार्थी संगठनहरुले पनि ऐक्यवद्धता व्यक्त गरेका हुन् । मंगलबार अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली, केन्द्रिय सदस्य अशोक थापा लगायतले अनसनस्थलमै पुगेर आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरेका हुन् । पोखरामा क्रियाशिल ७ विद्यार्थी संगठनको प्रदेश नेतृत्वले आन्दोलनमा यस अघि नै ऐक्यवद्धता जनाईसकेको थियो ।

२७६८ जना विद्यार्थीहरुको कपी जाच्ने क्रममा लापरवाही भएको थियो । पोखरामा नाम चलेका कलेजका विद्यार्थीहरुको ग्रेडिङ ई मात्रै आएपछि विद्यार्थी, अविभावक र कलेजहरुले रि टोटलिङ गराएका थिए । सो क्रममा कैफियत देखिएको परिक्षा बोर्डले स्वीकार गरिसकेको छ । बोर्डले पुनः परिक्षा दिलाउने आश्वासन दिएको छ तर विद्यार्थीहरुले भने रि टोटलिङबाटै आफुहरुले न्याय पाउनुपर्ने बताउँदै आएका छन् । उनीहरुको आन्दोलनमा अविभावक र कलेज व्यवस्थापनको समेत समर्थन रहेको छ ।