अव के हुन्छ कांग्रेसको भबिश्य ?

९ पुष २०७५, सोमबार १५:१४

श्रीधर खनाल

नेपाली काँग्रेसको महासमिति बैठकमा देखिएको अन्योलताले कांग्रेसको भविष्य माथि प्रश्न चिन्ह खडा भएको थियो । तर, कांग्रेसले अन्तिम घडीमा आएर पार्टीको विधान सर्वसम्मतिमै पारित गरी महासमितिको बैठक सम्पन्न गरेको छ । नेताहरूले पार्टी एक भएको सन्देश दिएका छन । यो राम्रो काम हो ।

पार्टी पदाधिकारी समावेशी बनाउने प्रावधान विधानमै राखेर सबै वर्ग र समूहको प्रतिनिधित्व सुनिश्चित गराउन खोजिएको छ । विपक्षी दलको धर्म पूरा गर्दै सरकारलाई सचेत गराउने, सरकारका गलत क्रियाकलापको विरोध गर्ने र सुझाव दिने विभिन्न प्रस्तावहरू पनि महासमितिले पारित गरेको छ । अब पार्टीको विधान संघीय संरचनाअनुसार परिमार्जन हुनेछ । यद्यपि, पारित भनिएका प्रस्तावहरूलाई केन्द्रीय समितिले परिमार्जन गर्न भने बाँकी नै छ ।विधान संशोधनबाहेक अरू प्रस्तावहरुमा पर्याप्त छलफल भने हुन सकेन । महासमितिलाई नयाँ नेतृत्वको विकासको अवसर बनाउन पनि कांग्रेस विफल भयो । नेपाली कांग्रेसको महासमिति बैठक सवै हिसावले उपलब्धिमूलक हुनसकेन ।चुनाव हारेपछि शिथिलजस्तो देखिएको नेपाली कांग्रेसको संगठन कमजोर जस्तो देखिन्छ । गुटगत विभाजनबाट बढी नै आक्रान्त नेपाली कांग्रेसमा नयाँ विधानअनुसारको निर्वाचन प्रावधानले समूहगत निर्वाचन लगभग अपरिहार्य हुनेछ । नयाँ नेतृत्व विकासका लागि यसले तगारोको काम गर्नसक्छ । यस अवस्थामा पार्टी नेतृत्व र कार्यकर्ता पंक्ति गुटगत स्वार्थभन्दा माथि नउठे पार्टी कुनै समूहको कब्जामा जानसक्छ । यस महासमितिको मुख्य उपलब्धि मानिएको विधानको कार्यान्वयन नै पार्टीका लागि चुनौतीपूर्ण हुने देखिन्छ ।