अदालतले वारेन्ट जारी गरेपछि महन्त फरार

१६ मंसिर २०७५, आईतवार १४:२१

जनकपुर

संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको अर्बौं रुपियाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा अदालतले पक्राउ वारेन्ट जारी गरेपछि रतनसागर मठका महन्त बैकुण्ठ दास फरार छन् ।

दासले नक्कली लालपुर्जा बनाएर एक जनालाई सो जग्गाको धनी बनाएर बेचेको र सो जग्गा आफ्नो रहेको दाबी गर्दै अदालतमा मुद्दा दिएपछि उनी आफै फसेका हुन् ।सोधपुछ गर्ने क्रममा अशोककुमार शर्माले प्रहरीलाई दिएको बयानअनुसार रतनसागर मठका महन्त बैकुण्ठ दासलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेपछि साधुसन्तबीच चर्चाको विषय बनेको छ ।अदालतबाट प्रहरीले पक्राउ पुर्जी पाए पनि महन्त बैकुण्ठ दास एक सातादेखि फरार छन् । उनलाई खोज्न प्रहरी टोलीसमेत परिचालन गरिएको छ ।

नक्कली लालपुर्जा धनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बसहिया निवासी अशोककुमार शर्माको बयानका आधारमा अदालतले धनुषा प्रहरीलाई महन्त बैकुण्ठ दासलाई पक्राउ गर्न वारेन्ट जारी गरेको हो ।२ अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका वडानम्बर ८ को अढाइ बिघा गुठी जमिनको कीर्ते जालसाजी गरी बैकुण्ठ दास जग्गाधनी र शर्मालाई मोही बनाइएको छ ।

महन्त वैकुण्ठ दासलाई कीर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ पर्ने सम्भावना बढेपछि उनी राजनीतिक संरक्षण खोजिरहेको बुझिएको छ । महन्त दासले कलेजको जग्गा कीर्ते गरी बेचेपछि उनले आफ्नो जग्गा रहेको दाबी गर्दै अशोककुमार शर्माले कलेजविरुद्ध अदालतमा मुद्दा दिए । पछि कलेजले समेत ठगी तथा जालसाजीको मुद्दा गुठी संस्था जनकपुर, महन्त वैकुण्ठ दास र शर्मामाथि समेत मुद्दा हालेपछि महन्तसँग रहेको लालपुर्जा नक्कली रहेको गुठी संस्थाले अदालतमा प्रमाण पेस गर्यो र कीर्ते गरेको खुलासा भएको हो ।