छुरा प्रहार गरी दाङमा व्यवसायीको हत्या

१४ मंसिर २०७५, शुक्रबार १०:१५

दाङ

घोराहीमा बिहीबार बेलुका हार्डवेयर व्यवसायीको हत्या भएको छ। घोराही उपमहानगरपालिका १३ लामीडाँडाको दुधेसोतामा रोल्पा माडी गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ वर्षीय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या भएको हो।

स्थानीयले मगरलाई गम्भीर घाइते अवस्थामा फेला पारेपछि अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ। घटनास्थलमा घर्तीमाथिप्रहार भएको चक्कु समेत फेला परेको छ। मगर घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो सेवार पुल नजिकै माडि हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए। दाङका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पुर्‍याइएको थियो।

चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए। मगरको पसलमा बिहीबार साँझ सामान खरिद गर्न आएका रोल्पा तालाबाङका अमर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। खत्री घाइते भएको र घरमा रगत लागेको कपडा फेरेको अवस्थामा पक्राउ परेकाले उनीमाथि अनुसन्धान थालेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए।