काठमाडौं
गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव मैपीको पुलमुनि फेला पारको हो।

प्रयासको शव हत्या गरी जेब्रा झोलामा राखेको अवस्थामा फेला परेको थियो।घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि महेन्द्र सार्कीलाई पक्राउ गरिएको छ। एसएसपी सिंहले भने।प्रयास गत मंगलबारदेखि सम्पर्कमा थिएनन्। प्रहरीसँगको बयानमा सार्कीले प्रयासको मुखमा कपडा कोचेर मारेको बताएका छन् । अन्य कुरा भने सार्कीले खुलाएका छैनन् । अपहरण फिरौतीका लागि भएको हुनसक्ने प्रहरीको आशंका छ । स्रोतका अनुसार चालक सार्कीलाई मंसिर ११ गते साँझ नै पक्राउ गरिएको थियो । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको थियो । सार्कीले (बिहीबार) आफैंले प्रहरीलाई बालकको शव देखाएका थिए ।
