काठमाडौं ।
नेपाली चेली बन्दना नेपालले लगातार १२६ घण्टा नाचेर विश्व रेकर्ड कायम गरेकी छन् । बन्दनाले यसअघिको १२३ घण्टा १५ मिनेटको रेकर्डलाई तोड्दै आफ्नो नाममा विश्व रेकर्ड बनाएकी हुन् ।

गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड केरला, भारतकी कलामण्डलम हेमलथाको नाममा थियो । उनले सन् २०१६ मा लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा आफ्नो नाम लेखाएकी थिइन् । बन्दनाले बुधबार मध्याह्न १२ बजेर १६ मिनेट जाँदा हेमलथाको वल्र्ड रेकर्ड तोडेकी हुन् । वल्र्ड रेकर्ड बनाउने सिलसिलामा उनले शुक्रबार बिहान ९ बजेबाट नृत्य थालेकी थिइन् ।

बन्दनाले हेमलथाको रेकर्ड तोड्दै १२६ घण्टा लगातार नाचेर नयाँ रेकर्डका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डसँग अनुमति लिएकी थिइन् । उनले बुधबार दिउँसो ३ बजेर १५ मिनेटसम्म नाच्दै १२६ घण्टाको वल्र्ड रेकर्ड बनाएकी हुन् ।
काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य पाँच रात ६ दिनसम्म चलेको थियो । ६ दिनसम्म भोक, प्यास निन्द्रा नभनी लगातार नाचेर बन्दनाले गिनिज बुक अफ वल्र्डका लागि नयाँ रेकर्ड बनाएकी हुन् ।
यी नेपाली चेलीले लगातार नाचेको भिडियो गिनिज बुक अफ वल्र्डको अफिसबाट समेत प्रत्यक्ष नियालिएको थियो । उनले आफ्नो लक्ष्य पूरा गरेको सूचना आएपछि बन्दनाले नृत्य टुंग्याएकी थिइन् ।
अब केही दिनमै सबै प्रक्रिया पूरा गरेर गिनिज बुक अफ वल्र्डले बन्दनालाई सबैभन्दा लामो समयसम्म निरन्तर नृत्य गरेर १२६ घण्टा पूरा गरेको प्रमाणपत्र दिनेछ ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बुधबार बिहान कार्यक्रमस्थलमा पुगेर बन्दनालाई हौसलासँगै सफलताको शुभकामना दिएका थिए । उनले शुभकामना दिएको ४ घण्टापछि बन्दनाले आफ्नो लक्ष्यसहितको नृत्य पूरा गरेकी थिइन् ।
संयोग नै मान्नुपर्छ, राष्ट्रिय भावनाको गीत ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ‘’ बज्दै गर्दा बन्दनाले हेमलथाको रेकर्ड तोड्न सफल भएकी थिइन् । यसअघिको रेकर्ड तोड्न सफल भएकोमा खुसी हुँदै उनले नेपाली झन्डा हल्लाउँदै नाचेकी थिइन् । नियमानुसार त्यसपछि केही मिनेट नृत्य रोकेर उनी दर्शकदीर्घामा आएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बन्दनालाई फूलमाला लगाइदिँदै नयाँ रेकर्ड बनाएकोमा बधाई दिएका थिए ।
१२६ घण्टाको नयाँ रेकर्ड बनाएपछि साँझ समापन कार्यक्रम राखिएको थियो । समापन कार्यक्रमका अतिथि पूर्वप्रधानमन्त्री नेपाल नै थिए । पूर्वप्रधानमन्त्री नेपालले एउटी १७ वर्षीया नानी ले यस्तो साहसिक कार्य गर्दै विश्वलाई चकित पारेर गिनिज बुक अफ वल्र्डका लागि नयाँ रेकर्ड बनाएकोमा खुसी व्यक्त गरे ।
वल्र्ड रेकर्डका लागि नृत्यस्थलमा निरन्तर ६० वटा नेपाली लोकलयका गीत बजेका थिए । लगातार १२ घण्टा नाचेर बीचमा आधा घण्टा आराम गर्दै बन्दनाले नृत्यलाई निरन्तता दिएकी थिइन् । सो अवधिमा उनको स्वास्थ्य परीक्षण पनि निरन्तर भइरहेको थियो ।
छोरीको ऐतिहासिक सफलतापछि खुसी हुँदै उनका बाबु राम नेपालले भने, ‘मेरी छोरीले अथक प्रयास र ठूलो साहसका साथ १२६ घण्टा नाचेर विश्व रेकर्ड तोड्दै नेपालको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी छन् । निरन्तर निन्द्राको तनाव झेल्दै खुट्टा सुन्निएर निलो हुँदासम्म उनले आफ्नो नाच रोकिनन् र हामीले नसोचेको सफलता दिलाइन् ।’
नृत्य समापन कार्यक्रमपछि बेलुका बन्दनालाई घरमै लगिएको छ ।
चिकित्सकका अनुसार उनको प्रेसर, सुगरलगायत सबै अवस्था ठीक छ । केही कमजोरीपना भए पनि अत्यधिक थकाइ र निन्द्राका कारण घरमै उनले आराम गर्नेछिन् । बिहीबार बिहानसम्म घरमै आराम गरेपछि उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिने उनका बाबु राम नेपालले बताए ।
