तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउन माग

१२ मंसिर २०७५, बुधबार १२:२२

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई २३ जना केन्द्रीय सदस्यले भेटेर तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन्।

पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बस्न उनीहरुले माग गरेका हुन्। केही दिनअघि पार्टी अध्यक्षद्वयलाई महासचिव विष्णु पौडेलमार्फत ज्ञापन पत्र बुझाएको टोलीले मंगलबार पार्टी अध्यक्ष दाहालसँग भेट गरेका हुन्।दाहाल निवास खुमलटार पुगेर उनीहरूले पार्टीको राजनैतिक, सैद्धान्तिक, वैचारिक प्रतिवेदन बनाउने र त्यसका आधारमा सिंगो पार्टीपंक्तिलाई अभिमुखीकरण तत्काल गर्नुपर्नेमा जोड दिएका थिए।त्यसका लागि पोलिट ब्यूरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन गरी अघि बढ्न पनि सुझाव दिएको भेटमा सहभागी ठाकुर गैरेले बताए।उनीहरूले पार्टी सञ्चालन नीति र विधिका आधारमा पद्धतिसम्मत गर्न तत्काल केन्द्रीय कमिटीको बैठक आयोजना गर्नुपर्ने पार्टी अध्यक्ष प्रचण्डसँग माग गरेका छन्।सरकारलाई बलियो बनाउन र राम्रा कामलाई प्रभावकारी रुपमा जनतासम्म लैजान पनि बैठक तत्काल बोलाउनुपर्ने उनीहरुको सुझाव छ।