नेविसंघको १२औं महाधिवेशन पुस २८, २९ र ३० काठमाडौंमा

११ मंसिर २०७५, मंगलवार १५:२५

काठमाडौं–नेविसंघ केन्द्रिय कार्यसमितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको छ।

बैठकपछि पत्रकार सम्मेलन गरी नेविसंघका अध्यक्ष नैनसिंह महरले सरकारको जनविरोधी गतिविधिलाई रोक्न सशक्त बन्नुपर्ने भएकाले पुसको अन्तिम साता सम्पन्न हुने गरी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको बताए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ।त्यसैगरी, पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयहरुका अधिवेशनहरु सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ। अध्यक्ष महरले पुस २० गतेसम्म महाधिवेशनका प्रतिनिधि चयन हुने गरी कार्यतालिका तय गरिएको पनि जानकारी दिए। तोकिएको समयभित्र अधिवेशन नगर्ने जिल्ला समिति तत्काल भंग गर्ने संघको निर्णयमा उल्लेख गरिएको छ।पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचको गुटबन्दीका कारण नेविसंघको १२औं महाधिवेशन पटक–पटक स्थगित हुँदै आएको छ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। सोही समयसीमा भित्र पूरा हुने गरी नेविसंघले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार मंसिर २२ गतेभित्र मावि र क्याम्पसहरुको अधिवेशन सम्पन्न गर्ने, मंसीर २५ गतेभित्र स्थानीय गाउँ नगर अधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ।