नेकपाको सचिवालय बैठक सर्‍यो

१० मंसिर २०७५, सोमबार १२:५५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सोमबारका लागि तय भएको पार्टी सचिवालय बैठक स्थगित भएको छ ।गृहकार्य नपुगेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार मंगलबारको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिनेछ भने स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउने छ ।


नेकपाको विधानअनुसार केन्द्रीय सदस्यको एकतिहाई संख्याको पोलिटव्युरो रहने प्रावधान छ । जसअनुसार १४७ सदस्यीय पोलिटव्युरो बनिसक्नुपर्ने थियो । तर, एकीकरण भएको सात महिनामा पनि पोलिटव्युरो गठन नभएको भन्दै नेकपाभित्र असन्तुष्टि झाँगिएको छ ।सातवटै प्रदेशमा कमिटीको आकार टुंगो यसअघि नै लागिसकेको छ । योग्यता, वरिष्ठता र पार्टी एकताको भावनालाई आत्मसात् गर्दै पूर्वएमालेबाट ५५ र पूर्वमाओवादी केन्द्रबाट ४५ प्रतिशत सदस्य रहनेगरी प्रदेश कमिटी गठन गर्ने तयारी भइरहेको नेताहरूले जनाएका छन् ।प्रदेश १ मा २०७ सदस्यीय प्रदेश कमिटी प्रस्तावित छ । त्यस्तै दुई नम्बर प्रदेशमा २०० सदस्यीय कमिटी प्रस्ताव गरिएको छ र १५ सदस्य खाली राखिएको छ । प्रदेश कमिटीलाई पूर्णता दिने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा पार्टी अध्यक्षद्वयलाई दिएर शनिबारको बैठक स्थगित गरियो । अध्यक्षद्वयले त्यसमा आइतबार गृहकार्य गरेर सोमबारको बैठकले कार्यविभाजन टुंगो लगाउने भने पनि अध्यक्षद्वयको कार्यव्यस्तताले गृहकार्य गर्न नभ्याइएको बताइएको छ ।