क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले हमला गरेर तीनवटा युक्रेनी नौसैनिक जहाज कब्जा गरेपछि दुई देशबीच तनाव निकै चर्किएको छ। दुईवटा गनबोट र एउटा टगबोटलाई रुसी फौजले कब्जामा लियोको छ।केही युक्रेनी जहाज चालक दलका सदस्य घाइते भएका छन्।दुवै देशले एक अर्कालाई दोष लगाएका छन्।पछिल्लो संकट रुसले युक्रेनी पानीजहाजहरूलाई आफ्नो जलक्षेत्रमा अवैध तरिकाले पसेको आरोप लगायो।

रुसले कर्च स्ट्रेट भनिने ब्ल्याक सी कृष्ण सागर लाई सी अफ अजोभ अजोभ सागर सँग जोड्ने साँघुरो जलमार्गमा रहेको पुलमुनि ट्याङ्कर राखिदियो।सी अफ अजोभ दुवै देशको साझा हो। ब्ल्याक सीबाट त्यहाँ आउनजान कर्च स्ट्रेटको मार्ग प्रयोग गर्नुपर्छ।पुलमुनि राखिएको ट्याङ्करले सी अफ अजोभतर्फको आवागमन रोकिरहेको छ।युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले उक्त घटनालाई रुसको उद्दण्ड कार्य भनेका छन्।उनले संसदलाई सैनिक कानुन लगाउन आग्रह गर्ने बताएका छन्।

रुसले चाहिँ युक्रेनी जहाजले उसको जलक्षेत्रमा अतिक्रमण गरेर कियभले आफूलाई उक्साएको आरोप लगाएको छ।युरोपेली युनियनले रुसलाई कर्च स्ट्रेटमा आवागमनको स्वतन्त्रतालाई कायम राख्न आह्वान गरेको छ।इयुले सबै पक्षलाई तत्काल तनाव मत्थर पार्न भनेको छ।उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पनि संयम रहन अपिल गर्दै सी अफ अजोभमा रहेका युक्रेनी बन्दरगाहरूमा निर्वाध आवागमनमा पहुँच निश्चित गर्न रुसलाई आग्रह गरेको छ।युक्रेनले मस्कोविरुद्ध अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक डाक्न भनेको छ।
