जनतासामू गरेका प्रतिबद्धताअनुसार सरकारबाट काम नभएकै हो देवेन्द्र पौडेल

९ मंसिर २०७५, आईतवार १७:२६

काठमाडौं–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता पौडेलले वर्तमान सरकार ६, ८ वा ९ महिनाको लागि मात्रै गठन नभएको बताउँदै भने,‘यो सरकार ५ वर्षको लागि गठन भएको हो । सरकारले यो बीचमा कर प्रणालीलाई नियमन गरेको छ । तर अहिले प्रभावकारी र लोकप्रिय काम नपुगेको साँचो हो । अर्को सालमा काममा गति हुन्छ । स्वयम प्रधानमन्त्रीले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर कार्यप्रगतिको समिक्षा गर्नुभएको छ ।’

उनले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भिर रुपमा समिक्षा गर्नुपर्ने बताए । उनले भने,‘हामी यस विषयमा पार्टीभित्र गम्भिर समिक्षा गर्छौं । सरकारमा सहभागी गठबन्धन दलसँग छलफल गर्छौं । स्वयम् प्रधानमन्त्रीले पनि चूनौतिको महशुस गर्नुभएको छ ।नेता पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने बताए ।

,‘सम्मानीय राष्ट्रपतिज्यूले मलाई यो प्रकृतिको गाडी चाहियो भनेर माग्नुभएको छैन् । गाडी खरिद गर्ने निर्णय २०७१ सालमै भएको हो । तर, एउटा दुई वटा गाडी खरिद प्रकरणलाई लिएर यसरी लिनु राम्रो हुँदैन् । बरु हामीले विकास निर्माणको बारेमा बहस गर्नुपर्छ । सम्मानित संस्थालाई बेप्रसँगमा विवादमा ल्याउनुहुँदैन् ।राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस भन्ने जनताको चाहना हुनु स्वभाविक भएको उनको प्रतिक्रिया छ । तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक नभएको नेता पौडेलको जिकिर छ ।