संयोजक फेरिएसँगै राजपामा चुलियो विवाद, ठाकुर पक्षले बोलायो छुट्टै बैठक

९ मंसिर २०७५, आईतवार १७:१६

काठमाडौं

संयोजक फेरिएसँगै राष्ट्रिय जनता पार्टी राजपा नेपालमा विवाद चुलिएको छ ।बहुमतको निर्णयको आधारमा महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई नयाँ संयोजक तोकिएसँगै सो पार्टीमा विवाद चुलिएको बताइएको छ ।

महन्थ ठाकुर पक्षीय एक नेताले सोमवार बिहान ११ बजे आफू पक्षीय केन्द्रीय सदस्य सदस्य तथा अन्य नेताहरुको बैठक बोलाइएको जानकारी दिए । बैठक बिजुली बजारस्थित तत्कालीन तमलोपाको कार्यालयमा बस्ने जनाइएको छ । ठाकुर पक्षीय नेता वृषेशचन्द्र लालको अगुवामा बैठक बस्न लागेको हो । लालले शनिबार नै निकटका नेता तथा कार्यकर्तालाई फोन गरेर बैठकमा बोलाएका छन् । उपत्यका बाहिर रहेका नेताहरु पनि काठमाडौका लागि हिँडिसकेको बताइएको छ ।

यद्यपी सो बैठकमा ठाकुर अनुपस्थित रहने बताइएको छ । बैठकमा ठाकुरलाई संयोजकबाट हटाइसकेपछि कस्तो रणनीतिका साथ अघि बढ्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ । लालले भने, ‘यो कुनै भेला होइन, पार्टीको बारेमा अहिले विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन्, त्यस्तो टिकाटिप्पणी नहोस्, एका अर्कामाथि आरोप प्रत्यारोप नलगाइयोस् र आगामी दिनमा पार्टीलाई कसरी आगाडी बढाउन सकिन्छ भन्ने विषयमा केही सीमित साथीहरुसँग सामान्य छलफल गर्न लागिएको हो ।’

ठाकुरलाई संयोजकबाट हटाएको कुरामा कुनै विवाद नभएपनि विधान देखाएर एकाएक षड्यन्त्रपूर्वक हटाउने काम भएको उनले बताए ।‘महाधिवेशनको तयारी चलिरहेको थियो । नेता तथा कार्यकर्ता उत्साहित भएर महाधिवेशनको तयारीमा लागेका थिए । यस्तो बेलामा संयोजक फेर्ने के त्यस्तो आवश्यकता पर्यो उनले प्रश्न गरे । यता, राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले ठाकुरले जथाभावी नियुक्ति गर्न थालेपछि संयोजकबाट हटाइएको दाबी गरे । ‘महाधिवेशनसम्म ठाकुरलाई संयोजक राखेर जाने कुरा थियो तर उहाँले पछिल्लो समय जथाभावी रुपमा मनोनयन तथा नियुक्तिहरु भयो’, यादवले भने ।

राजपा नेपालमा पहिला पनि दुई गुट थियो । एउटा गुटको नेतृत्व महन्थ ठाकुरले गरिरहेका थिए भने अर्को गुटको नेतृत्व राजेन्द्र महतोले गरिरहेका थिए । अहिले पनि त्यही गुट कायमै छन् तर गुटका पात्रहरु फेरिएका छन् । पहिला महन्थ ठाकुरको साथमा महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा थिए भने राजेन्द्र महतोको गुटमा शरतसिंह भण्डारी मात्र थिए । अहिले महन्थ ठाकुरसँग अनिल झा मात्र बाँकी छन् । यता राजेन्द्र महतोसँग शरतसिंह भण्डारी, राजकिशोर यादव र महेन्द्र राय यादव मिलेका छन् । यसैबीच राजपा नेपालले सोमवार १ बजेका लागिअध्यक्षमण्डलको बैठक बोलाएको छ । सरकारसँग वार्ता र अगामी महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।