निर्मला हत्याकाण्ड २४ प्रहरीमाथि अनुसन्धान, थप १६ जनाको डीएनए परीक्षण

९ मंसिर २०७५, आईतवार १६:५०

काठमाडौं ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ४ महिना बित्न लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीको सधैं एउटै कुरो हुन्छ– अनुसन्धान जारी छ ।
आइतबार बाह्रखरीको जिज्ञासामा कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले अनुसन्धान जारी रहेको र नयाँ कुरो खास केही नभएको प्रतिक्रिया दिए ।

निर्मला हत्याकाण्डको पछि कसको संलग्नता थियो भनेर प्रहरी खोजेको खोज्यै छ । तर, परिणाम हात पार्न सकेको छैन । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘‘निर्मला काण्डको अनुसन्धान गर्न जति सकस कहिल्यै भएको थिएन । प्रहरी इतिहासमा थोरैमात्र घटनामा प्रहरीलाई यस्तो प्रकारको सकस आइपरेको छ । जताबाट प्रयास गर्दा पनि हत्यारासम्म पुग्ने बाटो पहिल्याउन सकिएको छैन ।

गत साउन १० गते साथीको घरमा हिँडेकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परिन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ । हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् । अन्य ६ जना प्रहरी निलम्बनमा छन् । २४ जना प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले आन्तरिक अनुसन्धान गरिरहेको छ ।

यसअघि तत्कालीन कञ्चनपुर प्रहरीले घटनामा संलग्न भएको भन्दै भीमदत्तनगर–१९ बागफाँटाका दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, दिलिपको डिएनए ‘म्याच’ नभएपछि उनी थुनामुक्त भए । त्यसयता प्रहरीले अनुसन्धान जारी राखे पनि नतिजा भने हात पार्न नसकेको छैन ।निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद १६ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । स्रोतका अनुसार दुई चरणमा उनीहरुको डीएनए परीक्षण गरिनेछ ।
यसअघि प्रहरीले झण्डै डेढ साताअघि ४ जनाको डीएनए परीक्षणका लागि रगत संकलन गरेर केन्द्रीय प्रयोशालामा पठाएको थियो । उनीहरुको नतिजा मेल खाएको थिएन । स्रोतले १६ जनाको डीएनए परीक्षण गर्न लागिएको बताए पनि प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने डीएनए परीक्षण गर्ने प्रक्रिया सुरु नभएको दाबी गरेका छन् । ‘‘अनुसन्धान विभिन्न कोणबाट जारी छ । अहिल्यै डीएनए परीक्षणको तयारी भने भएको छैन उनले भने ।

निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, स्थानीय आयुश विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, निर्मलाको शरीरमा भेटिएको ‘स्पर्म’सँग उनीहरुको डीएनए ‘म्याच’ गरेन । कतिपय प्रहरी अधिकारीले निर्मला हत्यामा चिनजानकै व्यक्तिको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्दै आएका छन् । प्रहरीले प्रविधिको प्रयोग गर्दैै निर्मला हत्याकाण्डको अनुसन्धान जारी राखेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरमै छ ।