कांग्रेस केन्द्रीय समिति बैठक बस्दैः विधान मस्यौदा पेस गर्ने

९ मंसिर २०७५, आईतवार ०९:४१

काठमाडौं ।

नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेस गर्ने बताइएको छ ।

समितिमा सहमति नजुटेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गर्ने तयारी गरेका छन् ‘भोटिङ गरेर यो विषय पास भयो, यो विषय पास भयो भन्ने होइन, छलफलमा आएका फरक धारणाहरुलाई एकीकृत गरेर मस्यौदा पेस हुन लागेको हो, मस्यौदा समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रदिप पौडेलले भने ।

उनका अनुसार मस्यौदा समितिमा सहमति नजुटेका विषयहरु पदाधिकारी र संसदीय समितिको संख्या र चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यता लगायतका केही विषयका बारेमा मस्यौदा समितिमा फरक–फरक धारणा देखिएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री खड्काले विधानको मस्योदा पेस गरेपछि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइने बताएका छन् । ‘बैठकमा विधानको मस्योदा पेस हुन्छ । पेस भएको मस्यौदा अध्ययनका लागि कार्यसमितिमा वितरण गर्न बैठक बोलाइएको हो, उनले भने ।

कात्तिक २० गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आवश्यक तयारी नपुगेको भन्दै महासमिति बैठक मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ । यसअघि कांग्रेसले मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।