काठमाडौं–
प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए।
‘प्रधानमन्त्री ओलीले संविधानले सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने सङ्कल्प गरेको उल्लेख गर्दै प्रत्येक नेपाली महिलालाई बिना लैङ्गिक भेदभाव समानवंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकलगायत मौलिक हक प्रत्याभूत गरेको प्रष्ट पारे।
‘सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनबाट विभिन्न तहको नेतृत्वमा निर्वाचित भएकामध्ये ४१ प्रतिशत महिला नै छन्, यो तथ्याङ्क दक्षिण एसिया र विश्वकै लागिसमेत प्रेरणादायी छ’, ।
प्रधानमन्त्री ओलीले भने, ‘सरकार महिलाको हकअधिकार सुनिश्चित गर्दै महिलाविरुद्ध हुने कुनै पनि प्रकारका हिंसा तथा विभेदको पूर्णरुपमा अन्त्य गर्न प्रतिबद्ध छ।व्यक्ति, परिवार, समाज र सिङ्गो राष्ट्र लैङ्गिक हिंसाको नकारात्मक प्रभावबाट ग्रसित हुने भएकाले त्यसका कारकको निर्मूल गर्ने कुरामा सरकार गम्भीर रहेको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री ओलीले हिंसाविरुद्ध सरकारको प्रयास हुँदाहुँदै पनि कतिपय अवस्थामा गलत अभ्यास र दुःखद घटनाका कारण देशको छवि अन्तर्राष्ट्रियरुपमा नकारात्मक हुन नपाओस् भनेर सबै सजग हुनुपर्ने बताए।
