काठमाडौं–
क्यानडामा आकर्षक रोजगारीमा पठाइदिने भन्दै प्रलोभन देखाएर १० जनासँग करिब १ करोड रुपैयाँ ठगी गरेको तथा मानव तस्करी गरेको अभियोगमा एक कन्सलटेन्सी सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको पुतलीसडकमा वेबस्टर एजुकेशन नेटवर्क नामक कन्सलटेन्सी सञ्चालन गरेकी सुनिता तिवारी वाइवालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी ले पक्राउ गरेको हो। मकवानपुरको बकैया–९ च्युरीबास घर भई काठमाडौंको नैकाप बस्दै आएकी सुनिताले क्यानडामा आकर्षक काममा लगाइदिने भन्दै १० जना नेपालीलाई ठगेको उजुरी सिआइबीमा परेको थियो।
सुनिताले एक व्यक्तिबाट ७ देखि १२ लाख रुपैयाँसम्म उठाएर भारतमा लगेर अलपत्र पारेको भन्दै उजुरी प्रहरीमा परेको थियो।
शिक्षा मन्त्रालयबाट स्वीकृति समेत नलिइ कन्सलटेन्सी सञ्चालन गर्दै आएकी सुनिताले आकर्षक कामको लोभ देखाएर मानव तस्करी गर्दै आएको सिआइबीको अनुसन्धानबाट फेला परेको छ।
विभिन्न पत्रपत्रिकामा विदेशबाट आकर्षक रोजगारीको अवसर आएको विज्ञापन दिएर सुनिताले ‘ग्राहक’ जम्मा गर्दै आएको प्रहरीले जानकारी दिएको छ।विदेशमा रोजगारी पाइने आशले आफ्नो सम्पर्कमा आउने व्यक्तिलाई सुनिताले भारतका विभिन्न ठाउँमा पुर्याएर महिनौसम्म शोषण गर्ने तथा अलपत्र पार्ने गरेको उजुरी प्रहरीमा पर्ने गरेको छ।
यसरी पीडित भएका १० जनाले जाहेरी दिएपछि सिआइबीले सुनितालाई नियन्त्रणमा लिएको जनाएको छ।जिल्ला अदालत काठमाडौंको आदेशानुसार शुक्रबार काठमाडौंको पुतलीसडकबाट पक्राउ परेकी सुनिताविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
